नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार पनि घटेको छ। यस दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा बन्द भएको हो।
सेयर बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा कम भएको छ। सोमबार ४ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ।
यस दिन ३५५ वटा धितोपत्रको १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर किनबेच भएको थियो। कारोबारमा सहभागी कम्पनीमध्ये ८० वटाको सेयर मूल्य बढ्दा १७७ वटाको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।
सोपान फर्मास्युटिकल्सको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेर प्रतिकित्ता ७०३ रुपैयाँ १० पैसा पुगेको छ। त्यसैगरी, एपोलो हाइड्रोपावरको सेयर मूल्य १४.९८ प्रतिशतले वृद्धि भई ६०२ रुपैयाँ ४० पैसा कायम भएको छ।
यता, सयपत्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.९० प्रतिशतले घटेर ६०२ रुपैयाँमा झरेको छ। युनिक नेपाल लघुवित्तको मूल्य पनि ४.०३ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ३३० रुपैयाँ २० पैसामा सीमित भएको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ३१ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा सिद्धार्थ बैंक रहेको छ, जसको १८ करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड र व्यापार समूह मात्र हरियालीमा रहे भने बाँकी ११ समूहको परिसूचक घटेको छ।