अमेरिका र इरानबीच जारी सैन्य तनाव अन्त्य गर्ने महत्वपूर्ण सम्झौता अन्तिम चरणमा पुगेको इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएका छन्। राज्य सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा उनले सम्झौतामा हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने तथा इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने विषय समावेश रहेको जानकारी दिएका हुन्।
अराघचीका अनुसार इरानको आणविक कार्यक्रमसम्बन्धी विस्तृत वार्ता भने सम्झौता कार्यान्वयनपछि सुरु हुनेछ। अमेरिकी अधिकारीहरूले पनि सम्झौताका केही बुँदा पुष्टि गर्दै इरानले आफ्ना प्रतिबद्धता पूरा गरेपछि मात्रै आर्थिक लाभ उपलब्ध गराइने बताएका छन्।
गत फागुन १६ गते अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका क्रममा इरानले इजरायल तथा अमेरिकाका खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूलाई निशाना बनाएको थियो। त्यसक्रममा विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानविरुद्धका योजनाबद्ध आक्रमण स्थगित गरिएको खुलासा गर्दै वार्तामा महत्वपूर्ण प्रगति भएको बताएका थिए। यद्यपि इरानी सञ्चारमाध्यममा सार्वजनिक गरिएको १४ बुँदे सम्झौताको विवरणलाई ट्रम्पले अस्वीकार गरेका छन्।
यता, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका–इरानबीच समझदारीपत्र (एमओयू) मा सहमति भइसकेको र अन्तिम प्रक्रियामात्र बाँकी रहेको बताएका छन्। पाकिस्तान र कतारले सम्झौता प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका छन्।
सम्झौताअनुसार अमेरिका इरानी जहाजहरूमाथिको नाकाबन्दी हटाउन तयार भएको छ भने इरानले हर्मुज जलडमरूमध्य पुनः खुला गर्नेछ। त्यसपछि ६० दिनसम्म इरानको संवर्धित युरेनियम भण्डार तथा आणविक कार्यक्रमबारे थप वार्ता हुने बताइएको छ।
अमेरिकी पक्षले इरानलाई कुनै अग्रिम आर्थिक सहायता नदिइने स्पष्ट पारेको छ। बरु प्रतिबन्ध हटाउने तथा रोक्का गरिएका सम्पत्ति फुकुवा गर्ने प्रक्रिया इरानले सम्झौताअनुसारका कदम पूरा गरेपछि चरणबद्ध रूपमा अघि बढाइने जनाइएको छ।
सम्झौतामा इरानले मध्यपूर्वका आफ्ना समर्थित सशस्त्र समूहहरूलाई आर्थिक तथा सैन्य सहयोग रोक्ने विषय पनि समावेश रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। यद्यपि सम्झौताले इजरायल र लेबनानस्थित हिजबुल्लाहबीचको तनाव कसरी सम्बोधन गर्ने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
विदेशमन्त्री अराघचीले अन्तिम चरणका वार्ता सम्पन्न हुनासाथ सम्झौतामा हस्ताक्षर गरी सार्वजनिक गरिने बताएका छन्। उनले आगामी केही दिनभित्रै औपचारिक घोषणा हुन सक्ने विश्वास व्यक्त गरेका छन्।