सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्जको मुख्य सडक क्षेत्रमा पर्ने सडक सीमाभित्रका संरचना तथा व्यवसाय हटाउन अन्तिम चेतावनी जारी गरेको छ।
कार्यालयले मंगलबार सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनामार्फत त्रिभुवन राजपथअन्तर्गत सिर्सिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडक सीमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा, संरचना तथा व्यवसाय सञ्चालन भइरहेका स्थान तत्काल खाली गर्न निर्देशन दिएको हो।
सूचनाअनुसार उक्त सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र सडक सीमाभित्र पर्ने भएकाले सो क्षेत्रमा रहेका सबै संरचना हटाउनुपर्ने उल्लेख गरिएको छ।
सडक डिभिजन कार्यालयले गत वैशाख ६ गतेदेखि सडक सीमा संरक्षणसम्बन्धी कार्य सुरु गरेको जनाएको छ। तर, हालसम्म पनि कतिपय क्षतिग्रस्त तथा जोखिमयुक्त भवनहरूमा बसोबास र व्यापारिक गतिविधि सञ्चालन भइरहेको पाइएकाले सम्बन्धित व्यक्ति तथा व्यवसायीलाई तत्काल स्थान खाली गर्न आग्रह गरिएको छ।
कार्यालयले सूचनाको अवज्ञा गरी जोखिमयुक्त भवन वा सडक सीमाभित्रका संरचनामा बसोबास तथा व्यापार व्यवसाय सञ्चालन गरेमा त्यसबाट हुन सक्ने कुनै पनि मानवीय वा भौतिक क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले वहन गर्नुपर्ने स्पष्ट पारेको छ।
साथै, सडक सीमाभित्र रहेका स्थायी तथा अस्थायी संरचना पाँच दिनभित्र स्वेच्छाले हटाउन कार्यालयले आग्रह गरेको छ। अन्यथा प्रचलित कानुनबमोजिम हटाउने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
सडक विस्तार तथा सीमा संरक्षण कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला निकाय, व्यवसायी र स्थानीयवासीको सहयोग आवश्यक रहेको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ।