विश्वकप फुटबलको एउटा उत्कृष्ट प्रदर्शनले खेलाडीको जीवन कति छिटो परिवर्तन गर्न सक्छ भन्ने उदाहरण बनेका छन् केप भर्डेका गोलकिपर भोजिन्हा। स्पेनविरुद्धको ऐतिहासिक बराबरीपछि उनी मैदानका मात्र होइन, सामाजिक सञ्जालका पनि नयाँ सुपरस्टार बनेका छन्।
फिफा विश्वकप २०२६ अन्तर्गत स्पेनसँगको खेलअघि इन्स्टाग्राममा करिब ५० हजार फलोअर रहेका ४० वर्षीय भोजिन्हाको लोकप्रियता केही घण्टामै लाखौं गुणाले बढेको छ। स्पेनविरुद्धको अविस्मरणीय प्रदर्शनपछि उनको फलोअर संख्या ५० लाख नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विश्व फुटबलका शक्तिशाली राष्ट्रमध्ये एक स्पेनविरुद्ध केप भर्डेले ०–० को बराबरी निकाल्दा सबैभन्दा ठूलो भूमिका भोजिन्हाकै रह्यो। उनले खेलभर सात महत्वपूर्ण बचाउ गर्दै स्पेनका स्टार खेलाडीहरूलाई निराश बनाए। उनको उत्कृष्ट प्रदर्शनकै कारण स्पेनले खेलभर दबाब बनाए पनि गोल गर्न सकेन।
४० वर्षे अनुभवी गोलकिपर भोजिन्हाको वास्तविक नाम जोसिमार डायस हो। सन् २००७ देखि व्यावसायिक फुटबल खेल्दै आएका उनले पोर्चुगलको गिल भिसेन्टे लगायत विभिन्न क्लबबाट खेलेका छन्। तर, विश्वकपको मञ्चमा स्पेनविरुद्ध देखाएको प्रदर्शनले उनको करिअरलाई नयाँ उचाइमा पुर्याएको छ।
खेलपछि उनले भावुक हुँदै भने, “मैले आफ्नो सम्पूर्ण जीवन यही दिनका लागि संघर्ष गरें। अघिल्ला पुस्ताले पनि विश्वकप खेल्ने सपना देखेका थिए, तर त्यो पूरा हुन सकेन। आज हाम्रो देशको सपना साकार भएको छ।”
केप भर्डे जस्तो सानो द्वीपीय राष्ट्रका लागि यो नतिजा ऐतिहासिक उपलब्धि हो। करिब पाँच लाख जनसंख्या भएको राष्ट्रले विश्वकपको पहिलो खेलमै युरोपेली च्याम्पियन स्पेनलाई अंक बाँड्न बाध्य बनायो।
विश्वकपमा चम्किएपछि भोजिन्हा अहिले विश्वभरका फुटबल समर्थकहरूको चासोको केन्द्र बनेका छन्। मैदानमा गरेको प्रदर्शनले मात्र होइन, आफ्नो संघर्ष, समर्पण र प्रेरणादायी यात्राले पनि उनले लाखौं समर्थकको मन जितेका छन्।
अब केप भर्डेले समूह ‘एच’ मा उरुग्वे र साउदी अरेबियासँग खेल्नेछ। तर, स्पेनविरुद्धको खेलपछि एक कुरा स्पष्ट भएको छ—विश्वकपमा अब केप भर्डेलाई हल्का रूपमा लिन सकिने छैन, र त्यसको केन्द्रमा रहनेछन् गोलपोस्टका नयाँ नायक भोजिन्हा।