फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को बहुप्रतीक्षित खेलमा साविक उपविजेता फ्रान्सले अफ्रिकी शक्ति सेनेगलसँग आज प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमै दुवै टोली जितसहित अभियान सुरु गर्ने लक्ष्यमा मैदान उत्रने तयारीमा छन्।
फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसाम्प्सले सेनेगललाई कमजोर नआँक्न चेतावनी दिँदै पूर्ण सतर्कतासहित खेल्नुपर्ने बताएका छन्। २००२ विश्वकपमा पहिलो खेलमै सेनेगलसँग १–० को अप्रत्याशित हार बेहोरेको फ्रान्स त्यस ऐतिहासिक घटनाबाट अझै पाठ सिकिरहेको मानिन्छ।
यसपटक फ्रान्स टोलीमा कप्तान किलियन एमबाप्पे, उस्मान डेम्बेले, मिखाएल ओलिसे, एन’गोलो कान्ते, विलियम सालिबा, इब्राहिमा कोनाते, थियो हर्नान्डेज, लुकास हर्नान्डेज र गोलकिपर मिके माइन्यान प्रमुख खेलाडीका रूपमा रहेका छन्। इडुआर्दो कामाभिङ्गा भने यस विश्वकप टोलीमा समावेश छैनन्।
यता सेनेगल पनि अनुभवी र सन्तुलित टोलीसहित मैदान उत्रँदैछ। कप्तान कालिदु कुलिबाली, गोलकिपर एडुआर्ड मेन्डी, स्टार फरवार्ड सादियो माने, निकोलस ज्याक्सन, इस्माइला सार, इलिमान न्दियाए, इद्रिस्सा गेये र पापा मातार सार टोलीका मुख्य हतियारका रूपमा रहनेछन्।
दुवै टोलीबीचको ऐतिहासिक भिडन्तले खेललाई थप रोचक बनाएको छ। हालसम्म भएका भेटमा सेनेगलले फ्रान्सविरुद्ध २ खेल जितेको छ भने फ्रान्सले १ खेल मात्र जितेको तथ्यांक रहेको छ। २००२ विश्वकपमा सेनेगलले विश्व विजेता फ्रान्सलाई पराजित गरेको खेल आज पनि फुटबल इतिहासकै ठूलो उलटफेरमध्ये एक मानिन्छ।
समूह ‘आई’ मा रहेका यी दुई टोलीका लागि आजको खेल नकआउट चरणतर्फको यात्रालाई सहज बनाउन निर्णायक मानिएको छ। फ्रान्स उपाधि दाबेदारका रूपमा मैदान उत्रँदैछ भने सेनेगल फेरि एकपटक विश्व फुटबललाई चकित पार्ने योजनामा छ।