वीरगञ्ज महानगरपालिका–४ भगवतीटोलस्थित बिकन स्कुलले सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। स्कुलमा अध्ययनरत विद्यार्थीहरूको समूह बिकन सोसल वेलफेयर युनिट को आयोजनामा वीरगञ्ज–१५ स्थित भिस्वा डाँडा परिसरमा व्यापक सरसफाइ अभियान सञ्चालन गर्नुका साथै वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाइएको हो।
स्कुलका सञ्चालक तथा समाजसेवी प्रकाश उपाध्यायको नेतृत्वमा सम्पन्न कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह, सचिव अभिनाश झा, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव तथा समाजसेवी श्रवणबहादुर रायमाझी, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, स्कुलका लेखापाल तथा प्रशिक्षक सुभाष सिंह, शिक्षक तथा कार्यक्रम संयोजक रोहित शर्मा, बिकन सोसल वेलफेयर युनिटका संयोजक सौरभ गिरीलगायत शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जसपाल सिंहले फोहोर व्यवस्थापनमा सबैको सचेत सहभागिता आवश्यक रहेको बताए। उनले फोहोर उत्पादन कम गर्ने र उत्पादित फोहोरलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्ने हो भने वातावरण स्वच्छ र स्वस्थ राख्न सकिने उल्लेख गरे।
“हामीले आफ्नो घर, टोल, समाज, गाउँ र शहरलाई सधैं सफा राख्नुपर्छ। वातावरण स्वच्छ भएमा हामी, हाम्रो परिवार, समाज र देश नै स्वस्थ रहन्छ,” उनले भने।
त्यसैगरी स्कुलका सञ्चालक प्रकाश उपाध्यायले सरसफाइ मानव जीवनको अत्यन्त महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै स्वस्थ जीवनका लागि स्वच्छ वातावरण अपरिहार्य रहेको बताए। उनले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण तथा समाजसेवाप्रति जागरुक बनाउन विद्यालयले ‘बिकन सोसल वेलफेयर युनिट’ गठन गरी सरसफाइ, वृक्षारोपण तथा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
कार्यक्रममा समाजसेवी श्रवणबहादुर रायमाझी र लालबाबु सिंहले व्यक्तिगत सरसफाइसँगै सार्वजनिक स्थल, विद्यालय, धार्मिकस्थल, पोखरी तथा नदीहरूको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनीहरूले वातावरण संरक्षणसम्बन्धी शिक्षा विद्यालय तहदेखि नै व्यवहारिक रूपमा प्रदान गर्न आवश्यक रहेको उल्लेख गर्दै बिकन स्कुलका विद्यार्थीहरूले देखाएको सक्रियता प्रशंसनीय रहेको बताए।
कार्यक्रममा सहभागीहरूले आफ्नो वरपरको वातावरण स्वच्छ राख्ने प्रतिबद्धता व्यक्त गर्दै सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।