वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजना तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्यमा व्यवसाय संवर्द्धन कार्यक्रम सञ्चालनमा आएको छ। उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन तथा युवा उद्यमीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जेठ १० गतेदेखि संघको सभाहलमा कार्यक्रम सञ्चालन भइरहेको हो।
कार्यक्रमको उद्घाटन सत्रमा निम्बस समूहका अध्यक्ष तथा वरिष्ठ उद्योगी जगदीश अग्रवाल प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रम संघका सहसचिव तथा स्टार्टअप तथा नवप्रवर्तन समितिका संयोजक अनुप कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद गौतम प्रमुख अतिथि तथा वरिष्ठ उपाध्यक्ष माधव राजपाल र उपाध्यक्ष आशिष लाठ विशेष अतिथिका रूपमा सहभागी थिए।

उद्यमशीलता र नवप्रवर्तनप्रति रुचि राख्ने युवा उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा विभिन्न विषयगत प्रशिक्षण तथा व्यवहारिक कक्षाहरू सञ्चालन भइरहेका छन्।
कार्यक्रमअन्तर्गत व्यवसायिक रणनीति सम्बन्धी सत्रमा जगदीश अग्रवालले दीर्घकालीन व्यापार विस्तार, व्यवसायिक योजना निर्माण तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका विषयमा प्रशिक्षण दिनुभएको थियो। यस्तै, जनक अधिकारीले व्यवसाय प्रारूप क्यानभाससम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्नुभएको थियो।
कानुनी व्यवस्था तथा सुशासन विषयक सत्रमा चार्टर्ड एकाउन्टेन्ट सुभाष खण्डेलवालले व्यवसाय सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया, कर प्रणाली तथा सुशासनका आधारभूत पक्षबारे जानकारी गराउनुभएको थियो। बजार व्यवस्थापन तथा बिक्री प्रवर्द्धनसम्बन्धी सत्रमा सागर डिस्टिलरी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौरभ करनजीतले आधुनिक बजार व्यवस्थापन, डिजिटल प्रवर्द्धन र ग्राहक सम्बन्ध विस्तारका उपायहरूबारे प्रशिक्षण दिनुभएको थियो।

त्यसैगरी, चार्टर्ड एकाउन्टेन्ट नरेश पटेलले लेखा व्यवस्थापन तथा कर प्रणालीबारे प्रशिक्षण दिनुभएको थियो भने चार्टर्ड एकाउन्टेन्ट दीपल खन्नाले लगानी तयारी, वित्तीय योजना तथा लगानी आकर्षित गर्ने रणनीतिका विषयमा सहभागीहरूलाई सहजीकरण गर्नुभएको थियो।
लक्ष्मी बैंक वीरगञ्ज शाखाकी प्रबन्धक रोहिणी आचार्यले स्टार्टअप बैंकिङ, वित्तीय स्रोत व्यवस्थापन तथा व्यवसायिक वित्तका अवसरबारे जानकारी दिनुभएको थियो। नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका सहनिर्देशक सन्देश ठाकुरले वित्तीय साक्षरता, ऋण व्यवस्थापन, वित्तीय अनुशासन तथा व्यवसायिक वित्तका अवसर र चुनौतीबारे प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा मनिष अस्वानीले संकट व्यवस्थापन, नेतृत्व विकास तथा प्रभावकारी प्रस्तुतीकरण सीपबारे प्रशिक्षण दिनुभएको थियो भने औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ताले उद्योग तथा प्रतिस्पर्धी विश्लेषणसम्बन्धी जानकारी प्रदान गर्नुभएको थियो। यस्तै, ब्रिटानिया नेपालका सञ्चालन प्रमुख सन्दीप बन्सलले सञ्चालन व्यवस्थापन सुदृढीकरण, उत्पादकत्व वृद्धि तथा आपूर्ति शृङ्खला व्यवस्थापनका व्यवहारिक पक्षबारे सहजीकरण गर्नुभएको थियो।
आयोजकका अनुसार कार्यक्रमको अन्तिम चरणमा सहभागीहरूलाई व्यवसायिक योजना निर्माणको व्यवहारिक अभ्यास गराइनेछ। साथै, उनीहरूले आफ्नो व्यवसायिक अवधारणा प्रस्तुत गर्ने ‘बिजनेस पिचिङ’ कार्यक्रम सञ्चालन गरिने र सफल सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ।
उत्कृष्ट व्यवसायिक अवधारणा तथा सम्भावना भएका उद्यमीहरूलाई आगामी दिनमा थप मार्गदर्शन, परामर्श तथा उद्यम विकासका अवसरहरू उपलब्ध गराइने पनि आयोजकले जनाएको छ।
कार्यक्रमले स्थानीय स्तरमा दिगो व्यवसाय विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा सकारात्मक योगदान पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।