राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर संगठन निर्माण अभियानलाई तीव्र बनाउँदै हालसम्म ६०९ वटा पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार हालसम्म चार हजार ३६३ वडा, ६०९ पालिका तथा ६४ जिल्लामा अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको छ। पार्टीले अधिकांश जिल्लामा संगठनात्मक संरचना निर्माणको प्रक्रिया टुंग्याएको जनाएको छ।
रास्वपाका अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन बाँकी छ। यस्तै सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट जिल्लामा अधिवेशन प्रक्रिया सुरु भए पनि विभिन्न कारणले स्थगित भएको पार्टीले जनाएको छ।
पार्टीका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन सम्पन्न भइसकेको छ। मधेस प्रदेशको अधिवेशन स्थगित अवस्थामा रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको अधिवेशन प्रक्रिया जारी रहेको छ।
रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ। पार्टी नेतृत्वले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गर्ने तयारी भइरहेको बताएको छ।