यस वर्षको ‘स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार’ वीरगञ्जका वरिष्ठ पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिने भएको छ। पत्रकारिता क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि निरन्तर र प्रभावकारी योगदान पुर्याएबापत देवकोटालाई उक्त पुरस्कारका लागि छनोट गरिएको हो ।
पर्सा जिल्लाका पूर्वमेयर तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्वअध्यक्ष स्व. गोपाल गिरीको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको हो। वि.सं. २०६० माघ १ गते तत्कालीन माओवादी विद्रोहीद्वारा हत्या गरिएका गिरीको सम्मानमा प्रत्येक वर्ष पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ ।
पुरस्कृत हुने व्यक्तित्व देवकोटा हाल सामुदायिक रेडियो प्रसारक संघ (एकोराब) का वरिष्ठ उपाध्यक्ष तथा वीरगञ्जस्थित नारायणी एफएमका अध्यक्ष हुन् । उनी रेसखबर अनलाइनका संस्थापक समेत हुन् । स्थानीय पत्रकारिताको सुदृढीकरण, रेडियो प्रसारणको विस्तार र डिजिटल माध्यमको विकासमा उन्ले पुर्याएको योगदानलाई कदर गर्दै यो वर्षको पुरस्कारका लागि उनको नाम तय गरिएको आयोजकले जनाएको छ ।
यो पुरस्कारबाट यसअघि पर्साका स्थापित पत्रकारहरू बृजलाल पासवान, शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी, गया यादव र पंकज श्रेष्ठ सम्मानित भइसकेका छन् ।
पर्सा क्षेत्रको पत्रकारितामा व्यावसायिकता अभिवृद्धि र क्रियाशील पत्रकारहरूको मनोबल उच्च राख्न यो पुरस्कारले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । वरिष्ठ पत्रकार देवकोटालाई प्रदान गरिने यस वर्षको पुरस्कारले स्थानीय पत्रकारिताको गरिमालाई थप उजागर गर्ने विश्वास लिइएको छ ।