पर्साको पटेर्वासुगौली गाउँपालिका–४ सुगौलीकी रामकृतिदेवी केही समयअघिसम्म घरायसी काममै सीमित थिइन् । परिवारको आयआर्जनमा प्रत्यक्ष योगदान दिने कुनै माध्यम थिएन । तर, गाउँपालिकाले सञ्चालन गरेको ढकिया–पथिया बनाउने सीपमूलक तालिमले उनको जीवनशैली मात्र होइन, आत्मविश्वास र आर्थिक अवस्था पनि परिवर्तन गरिदिएको छ ।
घरायसी काम सकेर फुर्सदको समयमा ढकिया-पथिया बनाउँदै आएकी रामकृतिदेवीले अहिले मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेकी छन ्। ‘पहिला पनि गाउँघरमा ढकिया–पथिया बनाउने चलन त थियो, तर त्यो घरायसी प्रयोगका लागि मात्र हुन्थ्यो । आम्दानीको स्रोत थिएन,’ उनी भन्छिन्, ‘अहिले गाउँपालिकाको सहयोगले बनाएको ढकिया-पथिया ३ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । आम्दानी राम्रो भएको छ।’
थारु समुदाय सीप, कला र संस्कृतिका दृष्टिले धनी मानिन्छ । यही पहिचान र सीपलाई आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यले पटेर्वासुगौली गाउँपालिकाले ‘एक गाउँ एक उद्यम’ अभियानअन्तर्गत ढकिया-पथिया उद्यम सुरु गरेको हो । यस अभियानले रामकृतिदेवीजस्ता दुई दर्जनभन्दा बढी महिलालाई उद्यमशील बनाएको छ ।

गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीका अनुसार दाङ जिल्लाबाट दक्ष प्रशिक्षक झिकाएर स्थानीय महिलालाई ढकिया-पथिया बनाउने तालिम दिइएको हो । ‘स्थानीय स्रोतसाधनमा आधारित उद्यममार्फत महिलालाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो,’ अध्यक्ष चौधरी भन्छन्, ‘अहिले २५ जना महिला समूहमा आबद्ध भएर व्यावसायिक रूपमा उत्पादन गरिरहेका छन् । पालिकाले दुई जना स्थानीय प्रशिक्षक पनि तयार गरिसकेको छ ।’
स्थानीय महिलाले बुनेका ढकिया–पथिया अब गाउँको आवश्यकता पूरा गर्नमै सीमित छैनन् । वीरगञ्जमा हुने औपचारिक कार्यक्रमहरूमा उपहारका रूपमा यसको माग बढ्दै गएको छ । वीरगञ्ज, काठमाडौंलगायतका शहरमा आयोजना हुने मेलामहोत्सव र प्रदर्शनीमा समेत पटेर्वासुगौलीका ढकिया-पथिया देख्न पाइन्छन् । खुला सिमानाका कारण छिमेकी मुलुक भारतका सीमावर्ती क्षेत्रबाट पनि माग आउने गरेको छ ।
अध्यक्ष चौधरीका अनुसार पटेर्वासुगौलीमा उत्पादन भएका ढकिया-पथिया भारतको नयाँ दिल्लीदेखि अमेरिका र फ्रान्सजस्ता देशहरूमा समेत पुगेका छन् । ‘बजारीकरणको जिम्मेवारी पालिकाले नै लिएको छ । स्थानीय महिलाले उत्पादन गर्छन्, बजार खोज्ने काम हामी गर्छौं,’ उनले बताए ।
थारु समुदायमा ढकिया–पथियाको सांस्कृतिक महत्व अत्यन्त गहिरो छ । पूजा, शुभकार्य, विवाहमा दाइजो, मृत्युसंस्कार तथा दानमा ढकिया-पथिया दिने परम्परा रहेको छ । चेलीबेटीलाई कोसेली दिने चलनदेखि लिएर घरायसी सामान राख्नसमेत यसको प्रयोग हुँदै आएको छ । पछिल्लो समय औपचारिक कार्यक्रममा स्वागत र बिदाईका अवसरमा मायाको चिनोका रूपमा दिने प्रचलन पनि बढ्दै गएको छ ।
गाउँपालिका उपाध्यक्ष ममता महतो थारुका अनुसार परम्परागत रूपमा अत्यधिक मिहिनेत लाग्ने, तर आम्दानी नहुने भएपछि ढकिया-पथिया बनाउने चलन हराउँदै गएको थियो । ‘पालिकाले महिलाको समूह बनाएर उद्यमसँग जोडिदिएपछि यो परम्परा जोगिनुका साथै आम्दानीको भरपर्दो माध्यम बनेको छ,’ उनी भन्छिन् ।
ढकिया-पथियाको मुख्य कच्चा पदार्थ ‘मोज’ स्थानीय जंगल र रखात क्षेत्रबाट प्राप्त हुन्छ । रंगरोगनका सामग्री भने बजारबाट खरिद गर्नु पर्छ । पालिकाले कच्चा पदार्थ व्यवस्थापनदेखि उत्पादन र बजारीकरणसम्म सहजीकरण गर्दै आएको उपाध्यक्ष थारुको भनाइ छ ।
पालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख सोनम चौधरीका अनुसार स्थानीय महिलालाई थप दक्ष बनाउन नियमित तालिम दिइँदै आएको छ । ‘गत वर्ष अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा १५ दिने ढकिया-पथिया तालिम दिइएको थियो,’ उनी भन्छिन्, ‘आज यही सीपले महिलाहरू घरमै बसेर फुर्सदको समयमा मासिक १५-२० हजार रुपैयाँ कमाउन सक्ने भएका छन् । उनीहरू आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन् ।’
थारु समुदायको पहिचानसँग जोडिएको ढकिया–पथिया अहिले केवल सांस्कृतिक सामग्रीमात्र नभएर स्थानीय महिलाको जीवन परिवर्तन गर्ने आयआर्जनको सशक्त माध्यम बनेको छ । ‘एक गाउँ एक उद्यम’ अभियानले परम्परा संरक्षण र आर्थिक सशक्तीकरणलाई एकसाथ अघि बढाएको उदाहरणका रूपमा पटेर्वासुगौलीको ढकिया-पथिया उद्यम स्थापित हुँदै गएको अध्यक्ष चौधरीको भनाइ छ ।