डेढ वर्षअघि चितवनको सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष १८ महिनापछि फेला परेको छ। भरतपुर महानगरपालिका-२९ स्थित सिमलताल दुर्घटनास्थलबाट करिब ३ सय मिटर तल नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको अगाडिको भाग र टायर फेला परेको हो।
आइतबार बिहान नदी किनारमा माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले बसको केही भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले प्रारम्भिक निरीक्षण गर्दा सो अवशेष दुर्घटनामा परी बेपत्ता भएका बसकै भएको पुष्टि गरेको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार बालुवामा गाडिएको अवस्थामा बसको अगाडिको ड्राइभरतर्फको चक्का (डिस्ट) र टिनका केही टुक्राहरू फेला परेका छन्। "फेला परेको अवशेषबारे थप अनुसन्धान भइरहेको छ," प्रवक्ता खनालले भने, "प्राविधिक परीक्षण र अन्य प्रमाणका आधारमा यो कुन बसको भाग हो भन्ने पहिचान गर्नेछौँ।"
२०८१ असार २८ गते बिहान करिब ३ बजे लेदोसहितको पहिरो खस्दा दुईवटा बस त्रिशूलीमा खसेका थिए । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका थिए ।
दुर्घटनाका बेला दुई बसमा कुल ६५ जना यात्रु सवार थिए। तीमध्ये तीन जनाले पौडी खेलेर ज्यान जोगाएका थिए भने ११ जनाको शव विभिन्न स्थानमा फेला परेको थियो । बाँकी ५१ जना यात्रु र दुवै बसको अवस्था हालसम्म अज्ञात थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतबाट आएको विशेष गोताखोर टोलीले हप्तौँसम्म खोजी गर्दा पनि केही फेला नपरेपछि खोजी कार्य स्थगित गरिएको थियो ।
लामो समयपछि बसको अवशेष फेला परेपछि बेपत्ता यात्रुका परिवारमा पुनः एकपटक पीडा बल्झिएको छ भने प्रहरीले बाँकी अवशेष र यात्रुको अवस्थाबारे पुनः खोजीको तयारी थालेको छ ।