शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई प्राप्त भएका विभिन्न वैदेशिक भ्रमणका निमन्त्रणाहरू अस्वीकार गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै मन्त्री पुनले देशको अर्थतन्त्रको नाजुक अवस्थालाई सुधार नगरेसम्म विदेश भ्रमणमा निस्कनुको कुनै औचित्य नरहेको स्पष्ट पारेका हुन् ।
मन्त्री पुनले आफू मन्त्री पदमा बहाल भएदेखि हालसम्म प्राप्त भएका सबै पाँचवटा वैदेशिक भ्रमणका अवसरहरू त्यागिदिएको खुलासा गरेका छन् । "मैले मन्त्री भएपछि पहिले पनि तीनवटा विदेश भ्रमणको निम्तो आएको थियो, गइनँ," उनले फेसबुकमा लेखेका छन्, "अहिले फेरि दुईवटा निमन्त्रणा आएका छन्, यसमा पनि म जान्नँ ।"
देशको वर्तमान आर्थिक अवस्थाप्रति लक्षित गर्दै मन्त्री पुनले पदमा जोसुकै आए पनि आर्थिक सुधार नभएसम्म मुलुकको प्रगति सम्भव नहुने बताएका छन् । केही नयाँ काम गर्नका लागि पर्याप्त बजेट र बलियो अर्थतन्त्र चाहिने उल्लेख गर्दै उनले प्रश्न गरेका छन्, "के विदेश घुमेर अर्थतन्त्र बन्छ र ?"
उनले केवल पदमा बसेर विदेश भ्रमण गर्नुभन्दा स्वदेशमै बसेर ठोस काम गर्नु र अर्थतन्त्रलाई गति दिनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
मन्त्री पुनको यो अभिव्यक्ति यस्तो समयमा आएको छ, जतिबेला युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रस्तावित अमेरिका भ्रमण चर्को विवादमा परेको छ । खेलकुद मन्त्री गुप्ताको भ्रमणलाई लिएर जनस्तर र राजनीतिक वृत्तमा आलोचना भएपछि अन्ततः उनले आफ्नो भ्रमण स्थगित गरेका छन् ।
यस्तो परिवेशमा शिक्षा मन्त्री पुनले वैदेशिक भ्रमणका निमन्त्रणाहरूलाई सार्वजनिक रूपमै अस्वीकार गरेर मितव्ययिता र स्वदेशी उत्पादनशीलताको पक्षमा उभिएको सन्देश दिएका छन् । मन्त्री पुनको यो कदमलाई सामाजिक सञ्जालमा धेरैले सकारात्मक रूपमा लिएका छन् ।