महानगरपालिका–२४ रामगढवाका पारस द्विवेदीलाई यस वर्ष पाकेको धान भित्र्याउन पनि धौधौ भयो । धानको बीउ छर्ने समयमा पानी नपरेकाले बीउ सबै मरेर गयो । दोहो¥याएर बीउ छरे । रोप्ने बेलामा पानी परेन । जसोतसो रोपेको धान बाढीले बिगा¥यो । बचेखुचेको बाली भित्र्याउने बेलामा फेरि बेमौसमी वर्षाले बिगा¥यो ।
‘बीउ उम्रिएपछि बचाउनै धौधौ प¥यो । मुस्किलले महँगो खादमल हालेर धान फलाएका थियौं । धान काट्ने समयमा परेको बेमौसमी पानीले धानखेतमा पानी जमेर बस्यो । पाकेको धान पानीमा डुब्यो ।’ रामगढवा र अठ्ठराहसुगौलीको लगभग ५ सय बिघा धान खेत डुबेको उनको अनुमान छ । खेतमा जमेको पानी निकासको उपाय नभएपछि त्यहाँका किसानले गहुँ, तोरी र मसुरो बाली लगाउन पनि पाएका छैनन् ।

वीरगञ्ज–२६, सुगौलीबिर्ताकी गीतादेवी साह यस पटक धान उत्पादन घटेका कारण चिन्तामा डुबेकी छन् । प्रत्येक वर्ष साउन महिनाभित्रै रोपाइँ हुन्थ्यो । बेलामा वर्षा नभएपछि यस पटक असोजको पहिलो हप्तासम्म रोपाइँ भइरहेको थियो । असोजको दोस्रो साताको मुसलधारे वर्षाले धानखेती डुबायो । कात्तिक मध्यमा परेको अविरल वर्षाले पसाएको र पाक्न लागेको धान मास्यो । ‘अघिल्लो वर्ष कठ्ठाको २ क्विन्टल फलेको धान यो वर्ष ५० किलो पनि आएन,’ गीतादेवीले भनिन् ।
पर्साको जगरनाथपुर गाउँपालिका–६, सिसियाडीका किसान शम्भु यादवको पीडा पनि फरक छैन । उनी भन्छन्, ‘धान रोप्ने समयमा पानी पर्न सकेन । धेरै मिहिनेत गरेर धान फलाएका छौं, काट्ने बेलामा खेत नै जलमग्न भयो । खेतमा पानी जमेकाले यस पटक नयाँ बाली पनि गतिलो नहुने देखियो ।’

पर्साका किसानको यो समस्या अहिले सुक्खा र बेमौसमी वर्षाको समस्या खेपिरहेको मधेशका किसानको साझा पीडा हो । मधेश कृषि उत्पादनको केन्द्र हो । यो प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको राष्ट्रिय औसत योगदान २४ प्रतिशत हुँदा मधेशमा यो ३६ प्रतिशत रहेको मधेश प्रदेशको आर्थिक सर्वेक्षणमा उल्लेख छ । मधेशमा धान रोप्ने समयमा परेको सुक्खा र त्यसयताका बेमौसमी वर्षाका कारण यो वर्ष धान उत्पानमा कमी आउने अनुमान गरिएको छ । अघिल्लो वर्ष १३ लाख मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष १० लाख टनमा खुम्चिने अनुमान क्षेत्रीय कृषि अनुसन्धान निर्देशनालयका निर्देशक डा. विश्वेश्वरप्रसाद यादवको छ । अघिल्लो वर्ष मधेशको ३ लाख ७२ हजार ६४५ हेक्टरमा धानखेती गरिएकोमा यो वर्ष ३ लाख २४ हजार हेक्टरमा सीमित भएको यादवले जानकारी दिए ।
जलवायु परिवर्तनसँगै मौसमीचक्रमा देखिएको परिवर्तनले खाद्यान्न उत्पादनको मूल थलो मधेशको कृषिमा बहुआयामिक असर पारेको छ । एक दशकअघिदेखि नै कृषि क्षेत्रमा विज्ञहरूले यो चेतावनी दिँदै आएका थिए ।
विगत ३ वर्षदेखि यसको प्रत्यक्ष असरहरू देखिएको यादवको भनाइ छ । ‘मनसुनमा ढिलाइ र बेमौसमी वर्षाको क्रम बढेको छ । यसले धान, मकै, गहुँजस्ता मुख्य बालीहरूको रोपाइँ र कटाइको समय अव्यवस्थित भएको छ । रोपाइँका बेला पानी नपर्ने र बाली पाक्दै गर्दा झरी पर्ने हुँदा उपज घट्ने, बीउ नष्ट हुने र खेतीमा रोग र किरा बढ्नेजस्ता समस्या देखिएका छन्,’ उनले भने, ‘यो वर्ष रोपाइँको समयमा पानी परेन । त्यसपछि असोज र कात्तिक महिनामा अत्यधिक वर्षात्का कारण रोपिएको बाली बगायो र पाकेको धान नष्ट भयो ।
अनियमित मौसमका कारण विगतमा नदेखिएका किरा र रोगहरू देखा परेका छन् । यसले उत्पादन लागत बढाएको छ । मौसम अनिश्चित हुँदा बीउबिजन, मल, श्रम, सिँचाइ र औषधि सबैमा खर्च बढेको वीरगञ्ज महानगरपालिकाको कृषि शाखा अधिकृत रोशनी यादव बताउँछिन् । समयमा वर्षा नहुँदा रोपाइँको लागि कृषक समूहमा निःशुल्क बोरिङ्ग वितरण गरेको स्मरण गर्दै यादव भन्छिन् ‘साउनमा हुने खेती भदौसम्म लगाइएको थिएन । बेमौसमी खेती लगाउँदा रोग र किराको संक्रमण बढी हुन्छ ।’

कृषि अनुसन्धान निर्देशनालयका निर्देशक डा. यादव अब बाली पद्धतिलाई परिवर्तन गर्नुपर्ने बताउँछन् । ‘बाली लगाउँदै आएको समयलाई परिवर्तन गरेर अन्य बाली लगाउनेतर्फ जानु पर्छ,’ यादवले भने । मौसमी चक्र परिवर्तनका असर न्यूनीकरणको लागि धान र गहुँका नयाँ जातहरूको विकास गरिएको जानकारी यादवले दिए । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम धनुषा र कृषि अनुसन्धान निर्देशनालय, परवानीपुरले विकास गरेको बहुगुणी १ र बहुगुणी २ धानले सुख्खा र डुबान दुवै सहन सक्ने दाबी उनले गरे । ‘७ दिनसम्म लगातार खेतमा पानी डुबान हुदाँ पनि धान बाँचेको छ भने एकदमै सुख्खा भएको ठाउँमा पनि यो धान राम्रो लागेको छ । किसानले यस्ता धानका जातहरूलाई प्राथमिकता दिनु पर्छ,’ यादवले थपे, ‘अहिले धानको सिजनमा मनसुन नआएर अन्य धानका जातहरू खेतमा नै मरेर गए । त्यसको लागि सुक्खा सहने धानका जातहरू सुक्खा धान १, सुक्खा २, सुक्खा ३, सुक्खा ४ र सुक्खा ६ को विकास भएको छ । जुन ठाउँमा पानीको समस्या छ, त्यस्ता ठाउँहरूमा यी धानका जातहरू लगाउन सिफारिस गरेका छौं । डुबान भएको छ भने त्यहाँ बहुगुणी १ र बहुगुणी २, स्वर्णसब १ र सम्बा मन्सुलीजस्ता जातहरू सिफारिस भएका छन्’ कृषि अनुसन्धानले गहुँमा विजय, गौतम, भृकुटी, एनएल ९७१ सिफारिस गरेको छ ।
जानकारीको अभावमा अहिले पनि मधेश प्रदेशमा धेरै किसानले सिफारिस नभएको सोनामन्सुली जातको धान लगाइरहेको दाबी निर्देशक यादवको छ । ‘यो धान सिफारिस गरिएको धान होइन । यो भारतीय धानको बीउ हो । अहिले ४० प्रतिशतजति खेतमा यो धान लगाइएको छ,’ उनले भने ।
यता स्थानीय सरकारले मौसमीचक्र परिवर्तनका कारण खेतीमा परेको असर न्यूनीकरणका लागि अल्पकालीन उपाय अपनाए पनि दिगो समाधानको योजना भने बनाइसकेका छैनन् । असर रोकथामका उपायमा केन्द्रित भएका छन् । ‘रोग किरा नलाग्ने र सुक्खा सहन सक्ने धानका बीउ बाँडिएको थियो । कृषकहरूलाई अनुदानमा गहुँको बीउ पनि वितरण गरेको छ,’ वीरगञ्ज महानगरपालिका कृषि शाखा अधिकृत यादवले भनिन् । महानगरले किसानको लागि धुम्ती तालीम सञ्चालन गर्ने, सहकारी र समूहका अगुवा किसानलाई बोलाएर सिफरिस गरिएका बीउबारे जानकारी दिने काम पनि भएको उनले बताइन् ।

तर, सिफारिस भएका बीउबारेमा किसानलाई पर्याप्त जानकारी भने छैन । सिफारिस भएको जातबारे आफूहरूलाई कुनै जानकारी नभएको वीरगञ्ज–२६, सुगौलीबिर्ताकी गीतादेवी साह बताउँछिन् । वीरगञ्ज महानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष विजयप्रसाद कुर्मी डुबान क्षेत्रमा पानीको निकास खोज्ने काम भए पनि परम्परागत खेती प्रणालीको विकल्प खोज्ने योजना भने नबनेको बताउँछन् । यो वर्ष पानी निकासका लागि नाला निर्माण र सरसफाई मुख्य प्राथमिकतामा छ । अहिले किसानलाई पानी चाहिने बेलामा पानी परिरहेको छैन, नचाहिने बेलामा परिरहेको छ । यसमा अब अर्को वर्ष योजना बनाउँछौं ।’