तराई–मधेशमा सुख्खासँगै पछिल्ला वर्षमा खानेपानीको ठूलो समस्या देखिएको छ । खानेपानीसँगै त्यसका श्रोतमा हैजाका जीवाणु भेटिएपछि यो विषय पेचिलो बनेको छ । स्थानीय सरकार र खानेपानी वितरण निकायले समस्याको अल्कालीन निकासका उपाय खोजेपछि तत्कालीन सकस टरेको त छ, खानेपानीकै कारण हैजा फैलिएपछि मधेशको एकमात्र महानगर वीरगञ्ज र आसपासका क्षेत्रका बासिन्दामा स्वास्थ्य जोखिम भने बढेको हो ।
खानेपानीको पिरलो:
लामो समयसम्म खानेपानीको समस्या भोग्दै आएकी वीरगञ्ज महानगरपालिका–१५ की सरितादेवी यादवलाई अहिले राहत मिलेको छ । महानगरपालिकाले उनको घरमा डिपबोरिङ्गको धारा जडान गरिदिएपछि पिउने पानीको समस्याबाट मुक्ति मिलेको हो । पानीको लागि बिहान २ बजे नै उठ्नुपर्ने पहिलाजस्तो समस्या अहिले उनलाई छैन ।
‘यो धारा नआउञ्जेल राति सुत्न पनि पाइँदैनथ्यो । चापाकल सुकेर पानी आउन छोडेपछि बिहान २ बजे नै उठेर मोटर चलाउनु परेको थियो । अघिपछि धेरैले मोटर चलाउँथे, पानी नै आउँदैनथ्यो । आधा रातमा उठेर पानी थापेन भने खानेपानी नै नहुने,’ उनी भन्छिन् ‘नुहाउने, लुगा धुने र अरू सरसफाई त परको कुरा, खानेपानी पु¥याउनै मुश्किल थियो । अहिले वडाले धारा जोडिदिएपछि सजिलो भएको छ ।’

स्थानीय आदर्श टोल सुधार समूहबाट सञ्चालन गरिएको बोरिङ्गको धाराबाट बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ९ बजेसम्म पानी आउन थालेपछि यो टोलका ७० घरपरिवारलाई पानीको समस्याबाट मुक्ति मिलेको त छ । तर, पानी संकटको यो समाधान दिगो हुनेमा भने स्थानीय सशंकित छन् । त्यसैले वीरगञ्ज–१५ कै वृजकिशोर यादवले आफ्नो घरमा समूहको धारासँगै खानेपानी संस्थानले वितरण गरेको धाराबाट पनि आपूर्ति लिएका छन् ।
तीन÷चार वर्षअघि वीरगञ्जमा पानीको समस्या थिएन । तर, अहिले वीरगञ्जजस्तो पानीको समस्या मधेश प्रदेशका अधिकांश बस्तीमा देखिन थालेको छ । तराई क्षेत्रमा पानीको समस्या चुरे तथा भावर क्षेत्रमा नदीजन्य वस्तुको अत्यधिक दोहन र वन फडानीको असरसँग बढी जोडिएको छ । भूमिगत जलस्रोतबारे जानकारहरूका अनुसार चुरे तथा भावर क्षेत्रमा नदीजन्य वस्तुको अति दोहन र मौसमचक्रमा आएको परिवर्तनका कारण तराईका जिल्लामा पानीको सतह कम हुन थालेको हो । ‘एक त चुरे विनाश र भावर क्षेत्रको उत्खखन्ले पानी पुनर्भरण हुन सकेन । त्यसमाथि नहर, कुलो, पोखरीजस्ता पुनर्भरणका सतही स्रोतहरु मासिँदै गए । बढ्दो तापक्रम र वर्षातको चक्र र प्रवृत्तिमा परिवर्तन आएपछि भूमिगत पानी कम भएको हो,’ नेपाल खानेपानी संस्थानमा पूर्वमहाप्रबन्धक डा. भुपेन्द्र प्रसादले भने, ‘पहिला हप्ता÷दश दिन झरी पथ्र्यो । यस्तोमा भूमिगत पानीको पुनर्भरण हुन्छ । अहिले झरी कम पर्न थाल्यो । एकैपटक बाढी ल्याउने प्रकृतिको वर्षा भइरहेको छ । यसले पनि भूमिगत पानी पुनर्भरण हुन पाएको छैन ।’
वितेको ६÷७ दशकमा चापाकलको प्रयोग र निर्माण कार्यमा कंक्रिटीकरणले पानीको पुनर्भरण प्रभावित भएको वीरगञ्ज महानगरपालिका वातावरण महाशाखाका प्रमुख राकेशकुमार साह बताउँछन् । पर्साका १४ पालिकामध्ये चापाकलबाट पानी प्रयोग गर्ने धरधुरी संख्या मध्ये अरु पालिकाभन्दा वीरगञ्ज महानगरपालिकामा नै सबैभन्दा बढी छ । वीरगञ्जमा २७ हजार ४ सय ९० चापाकल प्रयोग गर्ने घरधुरी संख्या रहेको महानगरको तथ्यांक छ । तर, पछिल्ला वर्षहरुमा चापाकल सकेपछि महानगरले डिप बोरिङ्गमार्फत पानी बितरण गरेको छ । महानगरले ३०० भन्दा बढी डिप बोरिङ्गमार्फत पानी वितरण गरेको महानगरको वातावरण महाशाखाको तथ्यांक छ ।
नेपाल खानेपानी संस्थानमा पनि धारा जनान गर्नेको संख्या बढेको संस्थाना बितरण प्रमुख सञ्जीव यादवले बताएका छन् । खानेपानी संस्थानले वीरगञ्ज क्षेत्रमा १३ हजारभन्दा बढी खानेपानीका धारा जडान गरिसकेको छ । तीमध्ये ७ हजारभन्दा बढी धारा पानीको संकट शुरु भएयता जोडिएको यादवले बताए ।
हैजाको कहर
खानेपानीको संकटसँगै मधेशको एकमात्र महानगर वीरगञ्ज र आसपासका क्षेत्रमा पानीको संकटसँगै हैजाको महामारी फैलिएको छ । नारायणी अस्पतालका सूचना अधिकारीसमेत रहेका चिकित्सक डा. उदयनारायण सिंहले वीरगञ्जमा खानेपानीबाट हैजा फैलिएको बताएका छन् । ‘पर्सामा देखिएको हैजा प्रकोपको मुख्य कारण दूषित खानेपानी नै हो । खानेपानी सप्लाइमा ढलको पानी मिसिँदा हैजा व्यापक संक्रमण भएको हो,’ उनले भनेका छन् । नारायणी अस्पतालका अनुसार वीरगञ्ज महानगरपालिकाका वडा नं. १२, १३ र १४ बाट हैजाको प्रकोप शुरू भएको हो । ती वडाहरूबाट बिस्तारै हैजाको प्रकोप अन्य वडाहरूमा फैलिएको थियोे । अहिले नियन्त्रणमा आए पनि समयसमयमा बिरामी बढ्नेक्रम रोकिएको छैन । ‘तर, हैजा प्रकोप पुनः हुनसक्ने भएकाले सबै निकायहरूले सचेत भएर काम गर्न जरुरी छ,’ उनले भने ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पर्सामा अहिलेसम्म २७५ जनामा हैजा पुष्टि भएको छ । अहिलेसम्म १ हजार ६ सय ५७ जनालाई झाडापखाला भएकोमा तीमध्ये २७५ जनालाई हैजा संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।
स्वास्थ्यविज्ञहरूले खानेपानीबाट हैजाका जिवाणु फैलिएको दाबी गरिहरहँदा पालिका र खानेपानी संस्थान दुवैले आआफूले बितरण गरेको पानीको शुद्धता दाबी गर्दै आएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नंं. ९ का वडाअध्यक्ष जवाहर प्रसाद गुप्ता खानेपानी संस्थानको पानीको आपूर्ति व्यवस्थित नभएका कारण ढलको पानी मिसिएर हैजा फैलिएको दाबी गर्छन् । ‘खानेपानीको धाराको पानी खाएपछि वीरगञ्जका बासिन्दालाई झाडापखाला लाग्यो । हैजा संक्रमणको शुरूवात भुजापकौडी र सरकारी धाराको पानी खाएपछि भएको थियो । सधैं चापाकल र बोरिङ्गको पानी खाने गरेकोमा त्यही समयमा मात्र सरकारी धाराको पानी खाएको हो,’ वडाध्यक्ष गुप्ताले भने, ‘खानेपानी संस्थानको पाइपलाइनमा समस्या हुँदा पनि समयमा बनाउन आउँदैनन् । पाइप फुटेको ठाउँबाट पानीमा हैजाका किटाणु मिसिएर हैजा संक्रमण फैलिएको हुनु पर्दछ ।’
हैजाको संक्रमण फैलन लागेपछि मात्रै खानेपानी संस्थानले खानेपानीमा औषधी राखेर पानी वितरण गरेको आरोप उनले लगाए । गुप्ताका अनुसार वीरगञ्जको वडा नं. ९ मा ११ वटा बोरिङ्ग सञ्चालन भएको छ । वडाका बासिन्दाहरूले बोरिङ्गको पानी खाने भएकाले हैजा संक्रमितको संख्या बढ्न नपाएको दाबी गर्दै उनले थपे, ‘बोरिङ्गको पानी परीक्षण गरिसकेकाले पिउनयोग्य छ । पहिला वडा र नगरपालिकाले बोरिङ्गको पानी वितरण गर्दा नालामाथिबाट बिस्तार गरेको हुनाले शंकास्पद अवस्था थियो । सबैले गल्ति सच्याएर पाइप लाइनलाई सुधार गरेका हुनाले बोरिङ्गको पानीमा अहिले समस्या देखिएको छैन ।’
वीरगञ्ज महानगरले ३ सयभन्दा बढी डिपबोरिङ्गमार्फत पानी बितरण गरिरहेको छ । पानीको पाइप व्यवस्थापन प्रभावकारी नहुँदा नालामा पाइप डुबिरहेको देख्न सकिन्छ । हुनेखानेले आफ्नै खर्चमा निजी डिपबोरिङ्ग गरेका छन् । एउटा डिपबोरिङ्गका लागि ५ लाख रुपैयाँसम्म खर्च पर्ने गरेको छ ।
खानेपानी संस्थानका अधिकारीहरुले खानेपानी वितरणको पूर्वाधार र सावधानीमा कुनै समस्या नभएको दाबी गरेका छन् । खानेपानी संस्थानले वीरगञ्जमा वितरण गरेको पानी शुद्ध छ भएको दाबी संस्थानका वीरगञ्ज वितरण प्रमुख यादवले गरे ।
‘खानेपानी संस्थानको पानी हरेक हिसाबले शुद्ध छ । हामीले वितरण गरेको पानीबाट हैजा फैलिएको होइन । खानेपानीका पाइप जमिनमुनि सुरक्षित हिसाबले बिछ्याइएको छ । पानीको शुद्धतामा हामी अत्यन्तै गम्भीर छौं,’ वितरण प्रमुख यादवले भने, ‘हरेक प्यारामिटरले हेरिरहेका छौं । क्लोरिन गरेर पानी वितरण गर्दछौं । पटकपटक पानीको जाँच गरेका छौं । डब्लुएचओले पनि परीक्षण गरिरहेको छ । विभागले पानीको नमूना परीक्षण गरिरहेको छ । घरघरमा गएर पानीको नमूना लिएर परीक्षण गरिएको छ । विभागले पठाएको परीक्षणको रिपोर्टमा कुनै समस्या देखिएको छैन ।’
खानेपानी विभाग र जनकपुर कार्यालयले पर्सामा २ पटक पानीको नमूना संकलन गरी परीक्षण गरेको छ । त्यसक्रममा हैजाका जिवाणु नभेटिएको दाबी खानेपानी संस्थानका अधिकारीहरूको छ । खानेपानी संस्थानले वीरगञ्जमा दैनिक १ करोड लिटर पानी आपूर्ति गरेको छ । भूमिगत पानी ५ ओटा ओभर हेड ट्यांकीमा जम्मा गरेर वितरण भइरहेको छ । १४ वटा बोरिङमध्ये ३ ओटाबाट सिधैं वितरण भइरहेको यादवले बताए ।
पर्सा र बाराका केही पालिकामा हैजा फैलिएपछि विश्व स्वास्थ्य संगठनको सहयोगमा सरकारले पर्साका १४ र बाराका ६ वटा पालिकामा हैजाविरुद्धको खोप अभियान चलाएको छ । जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार बारा र पर्साका ६ लाख ५२ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप खुवाउने लक्ष्य छ । विश्व स्वास्थ्य संगठनले खोप अभियानमा अनुगमनसमेत गरेको उनले बताए ।