युवा नेता शरीफ उस्मान हादीको मृत्यु भएपछि बंगलादेशमा स्थिति अत्यन्त तनावग्रस्त बनेको छ । राजधानी ढाकासहित विभिन्न सहरमा हिंसात्मक प्रदर्शन, आगजनी र तोडफोडका घटनाहरू भएका छन् । फेब्रुअरी २०२६ मा हुने राष्ट्रिय निर्वाचनको संघारमा पुगेको बेला देखिएको यो अशान्तिले बंगलादेशलाई गम्भीर संकटतर्फ धकेलेको विश्लेषण गरिएको छ ।
गत साता चुनावी प्रचारका क्रममा आक्रमणमा परेका ३२ वर्षीय हादीको बिहीबार राति मृत्यु भएको हो । उनलाई गम्भीर अवस्थामा सिंगापुर लगिएको थियो, जहाँ छ दिनसम्म जीवनरक्षक उपकरणमा राखिएपछि उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
को थिए शरीफ उस्मान हादी ?
हादी ‘इन्किलाब मञ्च’ नामक सामाजिक–सांस्कृतिक अभियानका प्रवक्ता थिए । सन् २०२४ को जुलाई विद्रोहपछि स्थापना भएको यो मञ्च बंगलादेशको तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सत्ता पतनमा महत्वपूर्ण मानिन्छ । हादी सोही आन्दोलनका प्रमुख अनुहारमध्ये एक थिए ।
उनी आगामी आम निर्वाचनमा ढाका–८ क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने तयारीमा थिए । गत शुक्रबार ढाकाको बिजयनगर क्षेत्रमा चुनावी प्रचारका क्रममा रिक्सा चढेर जाँदै गर्दा मोटरसाइकलमा आएका मुखौटा लगाएका आक्रमणकारीले उनलाई टाउकोमा गोली प्रहार गरेका थिए । प्रारम्भिक उपचारपछि उनलाई सिंगापुर लगिएको थियो ।
हादी भारतप्रति खुलेर आलोचना गर्ने नेताका रूपमा चिनिन्थे । शेख हसिना भारतमा आत्मनिर्वासित अवस्थामा रहेपछि उनी अझ मुखर बनेका थिए ।
हादीको मृत्युपछि देशभर हिंसा
हादीको मृत्युको खबर सार्वजनिक भएलगत्तै बंगलादेशका विभिन्न सहरमा प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीहरूले हादीको नाममा नाराबाजी गर्दै न्यायको माग गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी तथा अर्धसैनिक बल परिचालन गरिएको छ ।

ढाकामा बंगलादेशका प्रमुख पत्रिका प्रोथोम आलो र डेली स्टार का कार्यालयमा आक्रोशित भीडले आगजनी गरेको छ । आगलागीका क्रममा कर्मचारीहरू भवनभित्रै रहेका थिए । ढिलो गरी आगो नियन्त्रणमा ल्याइएको थियो । प्रदर्शनकारीहरूले ती सञ्चारमाध्यम भारत–समर्थक भएको आरोप लगाएका छन् ।
त्यस्तै, ढाकास्थित प्रख्यात सांस्कृतिक संस्था ‘छायानट’ को परिसरमा तोडफोड र आगजनी गरिएको छ । उत्तर–पश्चिमी जिल्ला राजशाहीमा प्रदर्शनकारीहरूले बुलडोजर प्रयोग गरी अवामी लिगको कार्यालय भत्काएका छन् । चटगाँवसहित अन्य सहरमा सडक अवरुद्ध, सरकारी तथा निजी सम्पत्तिमा आक्रमणका घटना भएका छन् ।
चटगाँवमा रहेको भारतीय सहायक उच्चायोगमा पनि आक्रमण भएको छ । प्रदर्शनकारीहरूले ढुंगामुढा गर्नुका साथै भारत र अवामी लिगविरुद्ध नाराबाजी गरेका थिए ।
शेख मुजिबुर रहमानको घरमा पुनः आगजनी
बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको घरमा पुनः आगजनी र तोडफोड गरिएको छ । उक्त घर यसअघि पनि गत वर्ष फेब्रुअरी र अगस्टमा आक्रमणमा परेको थियो । मुजिबुर रहमान पूर्वप्रधानमन्त्री शेख हसिनाका पिता हुन् ।
शनिबार शोक दिवस घोषणा
अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले राष्ट्रका नाममा सम्बोधन गर्दै हादीको मृत्युको घोषणा गरेका छन् । उनले घटनामा संलग्नलाई छिट्टै कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाउँदै शनिबार राष्ट्रिय शोक दिवस घोषणा गरेका छन् । सो दिन राष्ट्रिय झण्डा आधा झुकाइने र देशभर विशेष प्रार्थना आयोजना गरिनेछ ।
“यो अत्यन्त पीडादायी खबर हो । जुलाई आन्दोलनका अग्रपंक्तिका लडाकु अब हामीबीच छैनन्,” युनुसले भनेका छन् । उनले हादीको हत्यामा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने स्पष्ट पारे ।
युनुसले नागरिकहरूलाई संयम र धैर्य अपनाउन आग्रह गर्दै सुरक्षा निकायलाई व्यावसायिक रूपमा अनुसन्धान गर्न दिने वातावरण बनाउन अपिल गरेका छन् ।