हङ्कङको एक उच्च–आवासीय भवनसमूहमा लागेको भीषण आगलागी भएकाे छ । दशकमै सबैभन्दा ठूलो मानिएको यस आगलागीमा मृतकको संख्या बढेर ४४ पुगेको छ। आगो चारवटा भवनभित्र सीमित गरिएको भए पनि अन्य तीन भवनबाट बिहीबार समेत बाक्लो धुवाँ निस्किरहेको देखिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उद्धारकर्मीहरूले माथिल्लो तल्लामा फसेका मानिसलाई उद्धार गर्ने प्रयास जारी राखेका छन्।
साथै, यस घटनामा अवहेलना तथा गैरकानुनी ढंगले काम गरेको आरोपमा तीन जनालाई गैरइरादतन हत्याको आरोपमा पक्राउ गरिएको छ।
झण्डै ३०० जना बेपत्ता
आगो लागेपछि हालसम्म लगभग ३०० जना सम्पर्कविहीन रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। मर्मत–सम्भारका क्रममा प्रयोग गरिएको असुरक्षित स्काफोल्डिङ र फोम सामग्रीका कारण आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।
अधिकांश मानिस भवनका माथिल्लो तल्लामा फसेका छन्। तीव्र गर्मी र बाक्लो धुवाँका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ। “भवनको भग्नावशेष र स्काफोल्डिङ खसिरहेको छ, जसले हाम्रो अग्रपंक्तिमा रहेका उद्धारकर्मीहरूलाई थप जोखिममा पारेको छ,” उप–अग्नि सेवा निर्देशक डेरेक चानको भनाइ ब्लूमबर्गले उद्धृत गरेको छ।
‘असामान्य’ आगलागी
हङ्कङका सुरक्षा सचिव क्रिस ट्याङले यो आगो सामान्यभन्दा निकै ‘असामान्य’ भएको टिप्पणी गरे। उनका अनुसार भवनको बाहिरी भागमा प्रयोग गरिएका सामग्री अत्यन्त द्रुतगतिमा दनकिएर फैलिएको थियो। “संरक्षणका लागि जडान गरिएको जाली, आगो–प्रतिरोधक कपडा र प्लास्टिक ढुसीनु हुँदैनथ्यो, तर ती अत्यन्त तीव्र गतिमा जलेर फैलिए,” ट्याङको भनाइ ब्लूमबर्गले उल्लेख गरेको छ।
यसैबीच, प्रहरीले नजिकैको एउटा अप्रभावित भवनका झ्याल–ढोकामा पनि फोमले पुरै सिला गरिएको अवस्था फेला पारेको छ। सो कार्य मर्मत गर्ने निर्माण कम्पनीकै कारण भएको प्रहरीको दाबी छ। “हामीलाई कम्पनीका जिम्मेवार व्यक्तिहरू अत्यन्तै लापरबाही भएको ठोस आधार छ, जसले यो दुर्घटनालाई नियन्त्रणबाहिर पुर्यायो र ठूलो क्षति भयो,” हङ्कङ प्रहरीकी सुपरिन्टेन्डेन्ट आयलिन चुङले बताइन्।
आगो लागेको वाङ फुक कोर्ट हाउसिङ कम्प्लेक्स ताइ पो जिल्ला स्थित हो, जहाँ करिब ५,००० मानिस बसोबास गर्छन्।
शी जिनपिङको प्रतिक्रिया
चिनियाँ राष्ट्रपति शी जिनपिङले यस भीषण आगलागीप्रति दुःख व्यक्त गर्दै हङ्कङका अधिकारीहरूलाई पूर्ण क्षमताका साथ आगो नियन्त्रण र उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन्। “ताइ पो जिल्लास्थित आवासीय क्षेत्रमा लागेको ठूलो आगलागीमा निधन भएका सबैप्रति राष्ट्रपति शी जिनपिङले समवेदना व्यक्त गरेका छन्, जसमा एक ३७ वर्षे अग्नि–नियन्त्रक पनि छन्,” चिनियाँ राज्य प्रसारक सिसिटिभीले जनाएको छ।
उक्त अग्नि–नियन्त्रक उद्धार कार्यका क्रममा शहीद भएका थिए।