सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको चौथो दिन जनकपुरमा आज परम्परागत तिल्कोत्सव धूमधामका साथ मनाइँदै छ। जानकी मन्दिरबाट एक हजार एक भार लिएर साधुसन्तहरू बाजागाजासहित राममन्दिर पुग्ने र त्यहीँ तिल्कोत्सव सम्पन्न गरिने परम्परा रहेको छ।
मैथिली संस्कृतिमा तिल्कोत्सवलाई ‘छेका’ भनिन्छ। विवाहअघि बेहुली पक्षले बेहुला पक्षलाई भारसहित पुगेर तिल्काउने अर्थात् टीकाटालो गर्ने विधिलाई छेका मानिन्छ। जानकी मन्दिरबाट दहीचुरा, खिरपुरी, विभिन्न परिकार, फलफूल, लत्ता–कपडासहितका १००१ भार राममन्दिरतर्फ लैजाने गरिन्छ।
भारको नेतृत्व अर्थात् राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्त तपेश्वर दास रहने परम्परा छ भने राजा दशरथको भूमिकामा राममन्दिरका महन्त रामगिरी रहने गर्छन्।
राममन्दिरमा भार पुगेपछि तिल्कोत्सवको मुख्य कार्यक्रम भव्य रूपमा सञ्चालन हुन्छ। त्यहाँ महिलाहरूले मैथिली भाषाका लोक तथा गाली गीत गाई छोरी जानकीको पक्षबाट आएका साधुसन्तलाई गाली गरेर स्वागत गर्ने पुरानो चलन आज पनि कायम छ। यसरी सम्धि मिलनपछि तिल्कोत्सव सम्पन्न हुन्छ।
महोत्सवको तेस्रो दिन बिहीबार जानकी मन्दिर परिसरमा धनुष यज्ञ मनाइएको थियो। त्रेता युगमा राजा जनकले छोरी जानकीका लागि योग्य बर छनोट गर्न भगवान् परशुरामद्वारा प्रदान गरिएको शिवधनुष भाँच्ने यज्ञ आयोजना गरेका थिए। आज पनि सो परम्परा अनुरूप रामको स्वरूप धारण गरेका बालकले धनुष भाँच्ने कार्यक्रम गरिन्छ। धनुष यज्ञ अवलोकन गर्न हजारौँ साधुसन्त तथा भक्तजनहरूको भीड लागेको थियो।
महोत्सवअन्तर्गत भोलि पाँचौँ दिन सोमबार राम–जानकीको मटकोर, मंगलबार मुख्य दिवसमा राम–जानकी विवाह र बुधबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सवको समापन हुनेछ।
यही मंसिर ४ गतेदेखि सुरु भएको महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लिला र तेस्रो दिन धनुष यज्ञ मनाइएको थियो। प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा भएको राम–सीताको सोयम्बर स्मरण गर्दै भव्य रूपमा विवाहपञ्चमी मनाइँदै आएको छ।