साउदी अरबको मेडिना नजिकै उमरा तीर्थयात्रीहरू बोकेको बस र डिजेल ट्यांकर एकआपसमा ठोक्किँदा कम्तीमा ४२ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन्। मृत्यु हुने सबै भारतीय नागरिक भएको आशंका गरिँदैछ, जसमा धेरैजसो हैदरावादका रहेका बताइएको छ।
तेलंगाना प्रदेशका सुचना प्रविधि मन्त्री डी. श्रीधर बाबुका अनुसार प्रारम्भिक तथ्यांकले मृत्यु हुनेमध्ये कम्तीमा १६ जना हैदरावादका बासिन्दा रहेको पुष्टि गरेको छ। उनीहरू सबै मललेपल्लीस्थित बजारघाट क्षेत्रका रहेका बताइएको छ। मृतकहरूको पहिचान प्रक्रिया चलिरहेको मन्त्री बाबुले बताएका छन्।
पीडितहरूको आफन्तका अनुसार ती तीर्थयात्रीहरू नोभेम्बर ९ मा हैदरावादबाट उमराका लागि प्रस्थान गरेका थिए। मक्का पुगेपछि उमरा सम्पन्न गरी उनीहरू मेडिना फर्किने क्रममा दुर्घटना भएको हो। उनीहरू अल मीना र अल मक्का ट्राभल्स, नामपल्लीमार्फत यात्रा गरेका थिए।
भारतका परराष्ट्र मन्त्री एस. जयशंकरले दुर्घटनाप्रति “गहिरो दुःख” व्यक्त गर्दै रियाधस्थित भारतीय दूतावास र जेद्दा कन्सुलेट पूर्ण सहयोगमा जुटेको जानकारी दिएका छन्। उनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
जेद्दास्थित भारतीय दूतावासले दुर्घटनाग्रस्त भारतीयहरूका परिवारलाई सहयोग गर्न २४ घण्टा सञ्चालन हुने हेल्पलाइन सुरु गरेको छ। दूतावासले एक्स (X) मा जानकारी दिँदै टोल फ्रि नम्बर ८००२४४०००३ सार्वजनिक गरेको छ।
तेलंगाना सरकार सक्रिय : दूतावाससँग समन्वय, कन्ट्रोल रुम सञ्चालन
तेलंगाना सरकारले रियाधस्थित भारतीय दूतावाससँग नियमित सम्पर्कमा रहेको र राहत–बचाउका तत्कालीन उपायहरूमा समन्वय गरिरहेको जनाएको छ। मुख्यमन्त्री रेवन्थ रेड्डीले प्रदेशका मुख्य सचिव के. रामकृष्ण राव र प्रहरी महानिर्देशक शिवाधर रेड्डीलाई मृतक र घाइतेहरूको विस्तृत विवरण तुरुन्त संकलन गर्न निर्देशन दिएका छन्।
मुख्य सचिवले दिल्लीस्थित रेसिडेन्ट कमिस्नर गौरव उप्पललाई समेत सचेत गराउँदै तेलंगानाका नागरिकहरूसम्बन्धी सबै विवरण संकलन गर्न आग्रह गरेका छन्। राज्य सचिवालयमा पनि परिवारजनलाई जानकारी र सहयोगका लागि कन्ट्रोल रुम सञ्चालन गरिएको छ।
हैदरावादका सांसद ओवैसीद्वारा केन्द्रलाई तत्काल हस्तक्षेपको आग्रह
एआईएमआईएम प्रमुख तथा हैदरावादका सांसद असदुद्दीन ओवैसीले यो दर्दनाक दुर्घटनापछि भारत सरकारको तत्काल हस्तक्षेप आवश्यक रहेको बताएका छन्। उनले रियाधस्थित भारतीय दूतावासका उप-मिशन प्रमुख अबु माथेन जर्जसँग कुरा गरिसकेको र उनीहरूले तथ्यांक संकलन गरिरहेको बताएका छन्।
ओवैसीले हैदरावादका दुई ट्राभल एजेन्सीसँग सम्पर्क गरी यात्रुहरूको विवरण दूतावास र भारतका विदेश सचिवसँग साझा गरेको बताए। उनले केन्द्र सरकार, विशेषगरी परराष्ट्रमन्त्री एस. जयशंकरलाई पीडितका शव भारत ल्याउने र घाइतेहरूको उचित उपचार सुनिश्चित गर्न आग्रह गरेका छन्।