नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मधेश प्रदेशको पछिल्लो राजनीतिक घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्तो बताएका छन्।
मलंगवामा बिहीबार प्रेस चौतारी सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पाण्डेले भने,
“एमाले मधेश प्रदेशमा विभाजित भएको छ। अहिले पार्टीमा दुईवटा गुट सक्रिय छन्। एक पक्षले मुख्यमन्त्री बनाएको छ भने अर्को तर्फ प्रमुख सचेतक हरिनारायण महतोले आपत्ति जनाएका छन्।”
उपाध्यक्ष पाण्डेका अनुसार, एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेको जानकारी पाएपछि प्रमुख सचेतक महतोले आपत्ति जनाउँदा पार्टीभित्र आन्तरिक भाडभैलो भएको छ। उनले थपे,
“मुख्यमन्त्री नियुक्ति प्रक्रियामा भएको त्रुटिलाई तत्काल सच्याइनु आवश्यक छ। नियमतः काम गर्ने वातावरण नहुँदा प्रदेश प्रशासनिक कामहरू प्रभावित भइरहेका छन्।”
यसैगरी, उपाध्यक्ष पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने र आफ्नै मान्छेलाई सदस्यता नदिँदा समाजमा गलत सन्देश जाने बताएका छन्।
त्यस्तै, एमालेका सचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टी सहभागी हुने र महाधिवेशनबाट जेन–जि पुस्तालाई नेतृत्वदायी पदमा समावेश गर्ने बताए।
उपाध्यक्ष पाण्डे सर्लाही जिल्लाका अध्यक्ष राजनारायण साहकी आमाको १३ औं पुण्यतिथिमा सहभागी हुन सर्लाही आएका थिए।