जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको प्रस्ताव गरे पनि अशोक राई नेतृत्वको जसपाले त्यसलाई तत्काल अस्वीकार गर्दै मोर्चाबन्दी र कार्यगत एकतामा जोड दिएको छ।
२०८१ वैशाखमा उपेन्द्र यादवको नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईले नयाँ जसपा गठन गरेका थिए। डेढ वर्षपछि यादवले “घर फर्क अभियान” अन्तर्गत राईलाई एकताका लागि प्रस्ताव गरेका हुन्। यादवले पार्टीका शीर्ष नेतामार्फत राईसँग औपचारिक रूपमा एकताको पहल अघि बढाएका छन्।
जसपा महासचिव इस्तियाक राईले उपेन्द्र पक्षबाट एकताको प्रस्ताव आएको पुष्टि गर्दै भने, “हामीले प्रस्तावलाई सकारात्मक रूपमा लिएका छौं, तर अहिले हाम्रो ध्यान अधिकार र पहिचानको मुद्दामा साझा मोर्चा निर्माणमा केन्द्रित छ।”
उनका अनुसार, विगतका एकता प्रयासहरू मधेसमा दीर्घकालीन रूपमा सफल नभएकाले यसपटक “हडबडीमा एकता होइन, विचारमा सहकार्य” गर्ने नीतिमा पार्टी अडिएको छ। जसपाले यस विषयमा अध्ययन र तयारीका लागि कार्यदल गठन समेत गरेको छ।
राईले हालसम्म कुनै पनि पार्टीसँग औपचारिक एकता वार्ता नसेकिएको भन्दै “नेपाली कम्युनिस्ट पार्टीसँग एकता हुँदैछ भन्ने खबर निराधार” भएको स्पष्ट पारे।
यता, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अशोक राईको पार्टीसँग मात्र नभई महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालसँग पनि एकताको पहल थालेको जनाएको छ। यादव र ठाकुरबीच पछिल्ला दिनहरूमा निरन्तर संवाद भइरहेको पार्टी स्रोतले बताएको छ।
जसपा नेपालले मधेसवादी आन्दोलनका पुराना साथीहरूलाई “एक ठाउँमा गोलबद्ध हुने” आह्वान गर्दै पुरानो मधेस आन्दोलनको पुनर्संरचना गर्ने संकेत दिएको छ।