दसैं, तिहार तथा छठ पर्वदसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले आठवटै जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ । लाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले आठवटै जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ । असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म प्रदेशका विभिन्न स्थानमा ७ हजार २२९ प्रहरी परिचालन गरिने मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार सबैभन्दा बढी प्रहरी धनुषामा १ हजार ५९९ जना परिचालन हुनेछन् । पर्सामा ६६१, बारामा ८७०, रौतहटमा ८६३, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, सिरहामा ६५१ र सप्तरीमा ८५७ प्रहरी परिचालन गरिनेछ ।
चाडपर्वको सुरक्षा व्यवस्थापनका लागि १ हजार १२४ ड्युटी तोकिएको छ । जसअन्तर्गत ५ हजार ४८१ प्रहरी परिचालन हुनेछन् । यसमा १४ जिल्ला रिजर्भ, ९२ क्यूआरटी, १८ स्ट्राइकिङ टोली, ८७ ट्राफिकसहितको चेकिङ, ८६ मोबाइल गस्ती र १८० पैदल गस्ती रहनेछन् ।
त्यस्तै, शंकास्पद स्थानमा पिकेटका लागि ३३९, राजमार्गमा स्कर्टिङका लागि २९ र यात्रु सहायता कक्षका लागि ६४ ड्युटी तोकिएको छ । सीमा नाकामा चोरी–तस्करी नियन्त्रणका लागि ७३, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३७, बजार अनुगमनका लागि २१ तथा कर्डन र सर्चका लागि १८ ड्युटी परिचालन गरिने प्रहरीले जनाएको छ ।
सभा, जुलुस तथा धर्नाका क्रममा आकस्मिक सुरक्षाका लागि १६ र विपद् प्रतिकार्यका लागि २२ टोली परिचालन हुनेछन् । सीमा नाकामा २८ वटा हेल्प डेस्क समेत सञ्चालन गरिनेछ ।
चाडपर्वका समयमा भारत–नेपाल सीमा नाकामा मानिसको आवतजावत बढ्ने भएकाले तस्करी तथा अवैध सामान ओसारपसार नियन्त्रणलाई पनि सुरक्षा योजनामा प्राथमिकता दिइएको छ । धार्मिक स्थलमा हुने भीडभाडका क्रममा चोरी, लुटपाट तथा मानिस हराउने घटना रोक्न सुरक्षा व्यवस्था कडा पारिने प्रहरीले जनाएको छ ।
छठ पर्वका क्रममा घाटमा डुब्ने तथा भीडजन्य दुर्घटना हुनसक्ने जोखिम, दसैंमा घर फर्किने तथा तिहारपछि बढ्ने आवतजावतका कारण हुनसक्ने सडक दुर्घटना र ट्राफिक जामलाई समेत सुरक्षा योजनामा समेटिएको प्रवक्ता ढकालले बताए ।
पटका तथा आतिसबाजीबाट हुनसक्ने आगलागी, जुवा–तास तथा अवैध सट्टेबाजी, मादक पदार्थ सेवनबाट हुने झैझगडा र घरेलु हिंसा तथा भीडभाडमा पाकेटमारी, चोरी र लुटपाट रोक्न प्रहरीले निगरानी बढाउनेछ ।
त्यसैगरी सुनचाँदी पसल, बैंक तथा नगद कारोबार हुने स्थानमा चोरी तथा डकैती, देउसी–भैलो, सांस्कृतिक कार्यक्रम र डिजेका कारण रात्रीकालीन शान्ति–सुरक्षामा आउनसक्ने चुनौती तथा धार्मिक कार्यक्रम र जुलुसबाट हुनसक्ने स्थानीय विवादलाई पनि प्रहरीले सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, अवैध मदिरा तथा लागुऔषधको ओसारपसार, कालोबजारी, कृत्रिम अभाव तथा मूल्यवृद्धि, सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएर तनाव सिर्जना गर्ने गतिविधि तथा आगलागी, विद्युत् सर्ट र अन्य आकस्मिक विपद्लाई समेत सुरक्षा योजनामा समेटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रवक्ता ढकालका अनुसार अन्य जनशक्तिलाई कमान्ड पोस्ट, संयुक्त गस्ती, सादा पोसाकमा सूचना संकलन तथा आकस्मिक ड्युटीमा परिचालन गरिनेछ।