बर्खाका कारण बन्द रहेको चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी आगामी असोज २३ गते शुक्रबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ।
गत असार १७ गतेदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरिएको थियो। वर्षायाममा आएको बाढी र पहिरोका कारण बिग्रिएका सफारी मार्ग मर्मत गर्ने, ढलेका रुख हटाउने तथा खोल्सा–खोल्सीका बाटो व्यवस्थित गर्ने काम अहिले तीव्र रूपमा भइरहेको निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार असोजको दोस्रो सातादेखि नै सफारी सञ्चालन गर्ने तयारी भए पनि सोही समयमा परेको ठूलो वर्षाका कारण निकुञ्जभित्रका विभिन्न खोल्सा तथा खोलामा आएको बाढीले सफारी रुट थप क्षतिग्रस्त बनाएपछि सञ्चालनमा ढिलाइ भएको हो।
उनका अनुसार अहिले असोज २३ गतेदेखि जिप सफारी सञ्चालन गर्ने लक्ष्यसहित बाटो मर्मतको काम भइरहेको छ।
असोज दोस्रो साता रिउ खोलामा आएको बाढीले निकुञ्जको टाइगरटप्स क्षेत्र जाने रुट बढी क्षतिग्रस्त बनाएको छ। उक्त क्षेत्रमा ग्राभेल हालेर सफारीका लागि बाटो तयार पार्ने काम भइरहेको निकुञ्जले जनाएको छ।
निकुञ्जभित्र जिप सफारी बन्द रहे पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा जिप र हात्ती सफारी भने नियमित रूपमा सञ्चालन हुँदै आएका छन्। निकुञ्जभित्र भने हात्ती सफारी सञ्चालन गर्न पाइँदैन।
बर्खाका तीन महिना जिप सफारी बन्द हुने भए पनि जंगल वाक भने सञ्चालनमै रहने गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षण जंगल सफारी हो। निकुञ्जमा वार्षिक औसत दुई लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन्। विशेषगरी विदेशी पर्यटकहरू जिप सफारीमा बढी आकर्षित हुने गरेका छन्।
निकुञ्जले जिप सफारीबाट वार्षिक रूपमा करोडौँ रुपैयाँ आम्दानी गर्दै आएको छ। हाल निकुञ्ज प्रवेशका लागि जिपको शुल्क ५ हजार रुपैयाँ, विदेशी पर्यटकका लागि २ हजार रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि १ हजार रुपैयाँ र नेपालीका लागि १५० रुपैयाँ शुल्क लिँदै आएको छ।
सौराहा क्षेत्रबाट ३०, कसाराबाट १०, मेघौलीबाट सात र अमलटारीबाट पाँचवटा जिप निकुञ्जभित्र सञ्चालन हुने गरेका छन्। एउटा जिपमा अधिकतम १० जनासम्म पर्यटक अट्ने व्यवस्था छ।