सेयर बजार परिसूचक नेप्से बुधबार २१.३२ अंकले बढेको छ। अघिल्लो कारोबार दिन ४.१२ अंकले बढेको नेप्से आजको वृद्धिसँगै २ हजार ६२१ अंकमा कायम भएको छ। यससँगै सेयर बजार लगातार पाँचौँ कारोबार दिन बढेको हो।
आजको बजार वृद्धिमा बैंकिङ समूहको योगदान सबैभन्दा बढी रह्यो। बजारमा सबैभन्दा ठूलो हिस्सा रहेको बैंकिङ समूहको सूचक १.४५ प्रतिशतले बढेको छ। कुल बजार पुँजीकरणमा बैंकिङ समूहको हिस्सा २५.४४ प्रतिशत छ। बैंकिङ समूहको उच्च वृद्धिका कारण समग्र नेप्से परिसूचकमा समेत उल्लेख्य सुधार देखिएको हो। बैंकिङ समूहको सूचक चैत १० यताकै उच्च विन्दु १ हजार ५६५ अंकमा पुगेको छ।
बुधबार सबै समूहगत सूचक हरियाली भएका छन्। विकास बैंक समूह १.१९ प्रतिशत, फाइनान्स ०.०४ प्रतिशत, जलविद्युत् ०.२९ प्रतिशत, होटल तथा पर्यटन ०.०४ प्रतिशत, लगानी ०.५२ प्रतिशत, जीवन बीमा ०.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४६ प्रतिशत, माइक्रोफाइनान्स ०.७९ प्रतिशत, निर्जीवन बीमा १.२० प्रतिशत, अन्य ०.६३ प्रतिशत तथा व्यापार समूह ०.८० प्रतिशतले बढेका छन्।
बजार बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ। आज १८८ कम्पनीको सेयर मूल्य बढ्दा ८० कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.९५ प्रतिशतले बढेको छ। त्यस्तै, ग्रिन भेन्चर्सको ४.२० प्रतिशत, नेपाल वेयरहाउजिङको ३.८६ प्रतिशत, ओरियन्टल होटल्सको ३.७४ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.५७ प्रतिशत, सन नेपाल लाइफ इन्स्योरेन्सको ३.१७ प्रतिशत, टक्सार पिखुवाखोलाको ३.१७ प्रतिशत तथा एनआईसी एसिया बैंकको ३.०८ प्रतिशतले मूल्य बढेको छ।
यसैगरी, सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य ६.३२ प्रतिशतले घटेको छ। एभरेस्ट कलरको ४.९५ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.७५ प्रतिशत, अपर लोहोरेखोलाको ३.६४ प्रतिशत तथा सिटी होटलको ३.३३ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, सिटी होटल र माउन्टेन इनर्जी अगाडि रहेका छन्।