टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले आफ्नो कीर्तिमानी तलब प्याकेज शेयरधनीहरूबाट अनुमोदन गराउन सफल भएका छन्। यदि मस्कले कम्पनीका लागि तोकिएका सबै लक्ष्यहरू पूरा गरे, उनले १ ट्रिलियन अमेरिकी डलरसम्म पाउनेछन्, जुन करिब १४१५ खर्ब नेपाली रुपैयाँ बराबर पर्छ।
बिहीबार अस्टिन, टेक्सासमा आयोजित कम्पनीको वार्षिक साधारण सभामा टेस्लाका शेयरधनीहरूको ७५ प्रतिशतभन्दा बढी मतले यो सम्झौता अनुमोदन गरेको थियो। स्वीकृतिपछि सभामा उपस्थित शेयरधनीहरूले ताली बजाउँदै “एलन! एलन!” भन्दै नारा पनि लगाएका थिए।
स्वीकृतिपछि मस्क मञ्चमा देखिए र छोटो समयको लागि नाच्दै आफ्नो खुशी व्यक्त गरे। उनले यो कदमलाई टेस्लाको भविष्यको लागि “नयाँ अध्याय मात्र नभई, सम्पूर्ण नयाँ किताब” भनेका छन्।
लक्ष्य र चुनौती
यो ऐतिहासिक भुक्तानी प्राप्त गर्नका लागि मस्कले आगामी १० वर्षमा कम्पनीका लागि केही अत्यन्त महत्वाकाङ्क्षी लक्ष्यहरू पूरा गर्नुपर्नेछ।
- टेस्लाको बजार मूल्य हालको लगभग १.५ ट्रिलियन अमेरिकी डलरबाट बढाएर ८.५ ट्रिलियन अमेरिकी डलरसम्म पुर्याउने।
- १० लाख सेल्फ-ड्राइभिङ रोबोट्याक्सी सञ्चालनमा ल्याउने।
- १० लाख ह्युमनोइड रोबोट (अप्टिमस) विकास र बिक्री गर्ने।
- दुई करोड इलेक्ट्रिक गाडी डेलिभर गर्ने।
यदि यी सबै लक्ष्यहरू पूरा भए, मस्कलाई करोडौँ नयाँ शेयरहरू प्रदान गरिनेछ। हाल मस्कसँग टेस्लाको १५ प्रतिशत शेयर छ, तर उनी यसलाई २५ प्रतिशतसम्म पुर्याउन चाहन्छन्।
अप्टिमस रोबोटमा ध्यान
सभामा मस्कको ध्यान विशेष रूपमा कम्पनीको अप्टिमस रोबोटमा केन्द्रित थियो। उनले यसलाई कम्पनी र मानवताको भविष्यको रूपमा वर्णन गर्दै “सबै समयको सबैभन्दा ठुलो उत्पादन” भएको दाबी दोहोर्याए। मस्कले यस तलब प्याकेजको उद्देश्य कम्पनीमा आफ्नो नियन्त्रण स्थापनासँगै “रोबोट सेना” माथि बलियो प्रभाव राख्नु रहेको बताए।
आलोचना र विरोध
तर यस विशाल भुक्तानी योजनालाई लिएर आलोचना पनि देखिएको छ। केही विश्लेषकहरूले मस्कलाई यो रकम दिनु भनेको टेस्लाले सामना गरिरहेका चुनौतीहरू—जस्तै बिक्रीमा गिरावट र सुरक्षा जोखिम—लाई बेवास्ता गर्नु भएको बताएका छन्।
नर्वेको सार्वभौम सम्पत्ति कोष र क्यालिफोर्निया सार्वजनिक कर्मचारी अवकाश प्रणाली जस्ता प्रमुख संस्थागत लगानीकर्ताहरूले नयाँ तलब योजनालाई अस्वीकार गरेका थिए। एक लगानीकर्ताले मस्कको सार्वजनिक व्यक्तित्वको ध्रुवीकरणले टेस्लाको ब्रान्ड मूल्यमा नकारात्मक असर पारेको भन्दै आफ्नो हिस्सेदारी घटाएको बताए।
ऐतिहासिक सन्दर्भ
टेस्लाको बोर्डले यो तलब स्वीकृत नगरे मस्क कम्पनी छोड्न सक्ने र कम्पनीले उनलाई गुमाउन नसक्ने भन्दै योजना स्वीकृत गरेको थियो। सन् २०१८ मा मस्कको करिब ५६ अर्ब अमेरिकी डलरको अघिल्लो तलब प्याकेज डेलावेयरका एक न्यायाधीशले खारेज गरिसकेको थियो।
त्यसै सन्दर्भमा शेयरधनीहरूले हालैको सभामा २०१८ को पारिश्रमिक योजनालाई पनि अनुमोदन गर्ने योजना स्वीकृत गरेका छन्।