मधेश प्रदेशसँग सीमा जोडिएको भारतको बिहार राज्यमा हुन गइरहेको विधान सभा निर्वाचनअघि भारतीय पक्षले नेपालतर्फको शान्ति–सुरक्षाबारे चासो देखाएको छ।
जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र कारागारबाट फरार कैदी–बन्दीहरू अझै सरकारी संयन्त्रको सम्पर्कमा नआएकाले सीमा सुरक्षाबारे भारतीय पक्ष सतर्क बनेको बताइएको छ।
केही दिनअघि भारतीय पक्षले मधेश प्रदेशका बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूलाई आमन्त्रण गरी सीमा क्षेत्रको सुरक्षा व्यवस्थाबारे छलफल गरेको हो। उक्त छलफलमा बिहारमा हुन गइरहेको विधान सभा चुनावलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा कडाइ गर्न आग्रह गरिएको थियो।
छलफलमा सीमाक्षेत्र सिल गर्ने, संयुक्त गस्ती सञ्चालन गर्ने लगायतका विषयमा पनि विस्तृत कुराकानी भएको बाराका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए।
‘खास गरेर बारा र पर्साका जिल्ला सुरक्षा समितिका पदाधिकारी, सशस्त्र प्रहरीका डीआइजीहरू समेतको उपस्थिति थियो,’ सुवेदीले भने, ‘त्यहाँ पनि त्यस्तै तहका भारतीय सुरक्षा अधिकारीहरूको उपस्थितिमा छलफल भएको हो।’
उनका अनुसार भारतीय पक्षले बिहारमा आसन्न निर्वाचनका क्रममा सीमा क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन आग्रह गरेको थियो। ‘उहाँहरूले चुनाव नजिकिएकाले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने कुरा उठाउनुभयो,’ सुवेदीले बताए, ‘हामीले पनि हाम्रो सुरक्षा तयारीबारे ब्रिफ गर्यौँ।’
उनले नेपाल र भारतका सीमावर्ती अधिकारीबीच यसअघि पनि यस्ता छलफलहरू नियमित रूपमा हुँदै आएको जानकारी दिए।
बिहार विधान सभा चुनाव दुई चरणमा
बिहार विधान सभा निर्वाचन आगामी ६ नोभेम्बर (२० कात्तिक) र ११ नोभेम्बर (२५ कात्तिक) मा गरी दुई चरणमा हुने कार्यक्रम छ। कुल २४३ सिटका लागि हुने यस निर्वाचनको मतपरिणाम १४ नोभेम्बर (२८ कात्तिक) मा सार्वजनिक हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यस निर्वाचनमा सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी महागठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यसपटक प्रशान्त किशोरको नयाँ पार्टी जन सुराज पनि चुनावी मैदानमा चर्चामा छ।
एनडीएमाअन्तर्गत भारतीय जनता पार्टी (भाजपा), जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी अवाम मोर्चा र राष्ट्रिय लोक मोर्चा रहेका छन्।
महागठबन्धनमा राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कांग्रेस, विकासशील इन्सान पार्टी, कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी–लेनिनवादी), कम्युनिस्ट पार्टी अफ इन्डिया र कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) रहेका छन्।
सत्तारूढ एनडीएको नेतृत्व भाजपा र जनता दल (युनाइटेड)ले गरिरहेका छन् भने विपक्षी महागठबन्धनको नेतृत्व राष्ट्रिय जनता दलले गरेको छ। महागठबन्धनले यसपटक तेजस्वी यादवलाई मुख्यमन्त्री पदको उम्मेदवारका रूपमा अघि सारेको छ।