सडक राम्रो भयो भने हाम्रो जीवन सहज हुन्छ—यही कुरा हामी सबैले जान्दछौं । सडकले केवल आवतजावतमात्र सहज बनाउँदैन, यसले हाम्रो स्वास्थ्य सेवा, शिक्षा, व्यवसाय र आपत्कालीन उद्धारमा पनि सहजता ल्याउँछ । तर, सडक बनाउनुभन्दा पनि त्यसको संरक्षण र सदुपयोग गर्नु अझ ठूलो जिम्मेवारी हो । तर, त्यो जिम्मेवारी हामीले निभाइरहेका छौं त ? अहिलेको अवस्थाले त्यसको उत्तर ‘होइन’ भन्ने संकेत दिन्छ । चाडपर्व शुरू हुनासाथ बजारमा भीड बढ्छ, आवतजावत तीव्र हुन्छ र त्यससँगै सडकको दुरुपयोग र ट्राफिक अव्यवस्था पनि अत्यधिक बढ्छ । सडकमा सामान बेच्ने, विना अनुमति पार्किङ गर्ने, विना हेल्मेट सवारीसाधन चलाउने, एक मोटरसाइकलमा तीन जनासम्म चढ्ने, जथाभावी सामान ओसारपसार गर्ने—यी सबै कुराले सडक सुरक्षालाई कमजोर बनाइरहेका छन् । चाडपर्वको नाममा धेरैजसो युवाहरू उत्साहमा हद नाघ्ने गरेका छन् । विना हेल्मेट मोटरसाइकल चलाउने, सिट बेल्ट नलगाउने, अत्यधिक गतिमा सवारी हाँक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने—यी प्रवृत्तिहरू सामान्यजस्तै बनेका छन् । तर, यही व्यवहारले प्रत्येक वर्ष सयौं परिवारमा चाडपर्वलाई शोकमा बदलिरहेको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार चाडपर्वका समयमा सडक दुर्घटनाको दर अन्य महिनाभन्दा धेरै गुणा बढ्ने गर्छ । कारण एउटै हो—लापरबाही । आखिर पर्वको नाममा लापर्वाही कहिलेसम्म ?
सडक राम्रो भएरमात्रै सुरक्षित हुँदैन । चालक, पैदलयात्री र यात्रु सबैको जिम्मेवारी समान हुन्छ । तर, वीरगञ्जसहित मधेश प्रदेशका धेरै ठाउँमा आज पनि सडकलाई निजी सम्पत्ति जस्तै दुरुपयोग गर्ने बानी रोकिएको छैन । कसैले सडकमै पसल थापेको हुन्छ, कसैले निर्माण सामग्री थुपारेको, कसैले सवारी पार्क गरेर बाटो बन्द गरेको हुन्छ । चाडपर्वको भीडमा यी सबै कुराले दुर्घटनाको जोखिम झन् बढाउँछन् । सडक निर्माणका लागि बजेट खोज्ने, ठेक्का दिने, शिलान्यास गर्ने—यी सबै काममा राजनीतिक र प्रशासनिक चासो देखिन्छ । तर, सडक बनेपछि त्यसको संरक्षण र नियमित मर्मतमा भने कसैको ध्यान जाँदैन । वीरगञ्ज, जनकपुर, बारालगायतका क्षेत्रमा केही वर्षमै ढलान उखेलिएका, खाल्डाखुल्डी भरिएका र दुर्गन्धित सडक देखिन्छन् । कसैले सडकमा फोहोर फाल्छ, कसैले फोहोर पानी सिधै सडकमा हाल्छ । चाडपर्वमा अझ बढी समस्या देखिन्छ । सडकमा साना पसल, अस्थायी मेला, मोबाइल स्टल, फलफूल बेच्ने ठेला, र सडकपार गर्ने भीडले सडकको वास्तविक प्रयोग असम्भवजस्तै बनाइदिन्छ । यस्तो अवस्थामा सडक न त सुरक्षित रहन्छ, न त जनजीवन सहज । यसमा हाम्रो ध्यान खोइ गएको ?
चाडपर्वको रमाइलोमा धेरैजसो मानिसले ट्राफिक नियमलाई महत्व नदिने प्रवृत्ति देखिन्छ । विना हेल्मेट, र विना लाइसेन्स मोटरसाइकल हाँक्ने मात्र होइन, तीन÷चार जना चढ्ने प्रवृत्ति सामान्य बनेको छ । सडकमा संगीत बजाउँदै, समूहमा मोटरसाइकल ¥याली निकाल्ने, स्टन्ट प्रदर्शन गर्ने युवाहरू देखिन्छन् । जसले न केवल आफ्नै ज्यान जोखिममा पार्छन्, अरूको पनि ज्यान खतरा पार्छन् । बिदाको समयमा सार्वजनिक यातायातका चालकहरूले बढी यात्रु हाल्ने, ठूला सवारी साधनमा अनधिकृत सिट थप्ने र टिकट दरमा मनपरी गर्ने प्रवृत्ति पनि बढ्ने गर्छ । यी सबैले सडकमा भीड बढाउँछन् र दुर्घटनाको जोखिम बढाउँछन् । यसबाट यात्रुहरूको सुरक्षामा जोखिमपूर्ण बन्दछ । अहिले देखिने अवस्था यस्तो छ कि सडक सुरक्षा र संरक्षणको जिम्मेवारी केवल ट्राफिक प्रहरीकै काँधमा छोडिएको छ । तर, यो केवल प्रहरीको होइन, हामी सबैको सामूहिक जिम्मेवारी हो । यदि सडकमा हाम्रै घरअगाडि फोहोर छैन भने त्यो हाम्रो सचेतनाको प्रमाण हो । यदि हामीले हेल्मेट लगायौं भने त्यो हाम्रो आफ्नै सुरक्षाप्रतिको सतर्कता हो । यदि हामीले सडकमा पसल राखेनौं भने त्यो नै योगदान हो । स्थानीय सरकार, प्रहरी, नागरिक समाज र युवाहरूबीच सहकार्य गरेर सडक संरक्षण र ट्राफिक सचेतना अभियान सञ्चालन गर्न सकिन्छ । टोलटोलमा सडक समितिहरू सक्रिय बनाइए भने सडकमा पसल नथाप्ने र सवारी नियम पालना गर्ने बानी विकास गर्न सकिन्छ ।
सडक कुनै व्यक्ति वा संस्थाको सम्पत्ति होइन, यो हाम्रो साझा सम्पत्ति हो । यसको संरक्षण गर्नु हरेक नागरिकको कर्तव्य हो । सडक बिग्रियो भने त्यसको सास्ती सारा समुदायले भोग्नु पर्छ । तर, हामीले अझै पनि सडकलाई आफ्नो जिम्मेवारीको विषयका रूपमा लिन सकेका छैनौं । सडक बनेपछि त्यसको हेरचाह, नियमित सरसफाई, र ट्राफिक नियम पालनामा ध्यान दिइएन भने केही वर्षमै त्यो सडक पुनः जीर्ण बन्छ । जसको असर हाम्रो दैनिक जीवनमा प्रत्यक्ष रुपमा पर्छ । हामी सबैले एउटा कुरा सम्झनु जरुरी छ–सडकमा एक क्षणको लापरवाहीले जीवनभरको पछुतो ल्याउन सक्छ । सडक निर्माणमा मात्र होइन, यसको संरक्षण र सुरक्षित प्रयोगमा पनि समान ध्यान दिनु पर्दछ ।