संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रूसको दुई ठूला तेल कम्पनीमाथि नयाँ “व्यापक” प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यो कदम युक्रेनसँग शान्ति सम्झौताका लागि मस्कोमाथि थप दबाव सिर्जना गर्ने प्रयासस्वरूप उठाइएको हो।
ट्रम्प प्रशासनले रूसमाथि गरेको यो पहिलो प्रत्यक्ष आर्थिक हस्तक्षेपलाई भूराजनीतिक हिसाबले महत्वपूर्ण क्षणको रूपमा हेरिएको छ।
कुन कम्पनीहरू प्रतिबन्धित भए?
अमेरिकी अर्थ मन्त्रालयको अफिस अफ फरेन एसेट्स कन्ट्रोल (OFAC) ले रूसका दुई ठूला तेल उत्पादक कम्पनीहरू (रोसनेफ्ट र लुकोइल)लाई कालोसूचीमा राखेको छ।
रोसनेफ्ट: राज्यको नियन्त्रणमा रहेको यो कम्पनीका प्रमुख आइगोर सेचिन हुन्, जो रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका साझेदार हुन्।
लुकोइल: निजी कम्पनी लुकोइलले रूसको कुल तेल निर्यातको आधाजति उत्पादन गर्दछ।
दुवै कम्पनी मिलेर प्रतिदिन करिब ३१ लाख ब्यारेल तेल निर्यात गर्छन्। रोसनेफ्ट मात्रले रूसी तेल उत्पादनको आधा हिस्सा ओगट्छ र विश्व बजारमा यसको तेलको ६ प्रतिशत हिस्सा पुग्ने ब्रिटिश सरकारको अनुमान छ।
अमेरिका किन प्रतिबन्ध लगाउँदैछ?
रुस-युक्रेन युद्ध रोक्नु ट्रम्प प्रशासनको पछिल्लो समयको प्रमुख प्राथमिकता हो। गाजामा युद्धविराम सफल भएपछि ट्रम्प उत्साहित भएका थिए। यद्यपि युक्रेनमा अहिलेसम्म कुनै स्थायी सम्झौता हुन सकेको छैन।
अमेरिकाले प्रतिबन्ध लगाउनुको कारण पुटिनले “व्यर्थको युद्ध” अन्त्य गर्न अस्वीकार गर्नु भएको अमेरिकाले बताएको छ। ट्रम्पले अमेरिकी साझेदारहरूलाई रुसी तेलमा खर्च घटाउन दबाव दिएका छन् र त्यसपछि मात्रै प्रतिबन्धको प्रभावकारी कदम चालिने जानकारी दिइएको छ।
अमेरिकी प्रतिबन्धको अर्थ
पूर्व अमेरिकी राजदूतहरूका अनुसार, यी प्रतिबन्धले रूसको अर्थतन्त्रलाई असर गर्ने भए पनि यसले पुटिनलाई शान्ति सम्झौताका लागि तत्काल प्रेरित गर्ने संभावना कमै छ।
पूर्वराजदूत जोन हर्बस्टले भने, “प्रतिबन्धहरूले निश्चित रूपमा रूसको अर्थतन्त्रमा असर पार्ने छ, तर मात्र यसले पुटिनलाई शान्ति र सद्भावका लागि प्रेरित गर्ने आशा गर्नु मूर्खता हुनेछ। यसका लागि लामो समयसम्म आर्थिक र सैन्य दबाव आवश्यक छ।”
अर्का भूतपूर्व राजदूत बिल टेलरले भने, “यो प्रतिबन्धले पुटिनलाई वार्ताको टेबुलमा आउनैपर्ने सन्देश दिने काम गर्छ। यो एउटा राम्रो थालनी हो।”