नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको पुष्टि भएको छ। काउन्सिलका अनुसार, २६ असोज दिउँसो २ बजेदेखि वेबसाइटमा अनाधिकृत पहुँच भएको थियो।
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले डेटा सुरक्षित रहेको र रिकभरी प्रक्रिया पूरा भइसकेको जानकारी दिएका छन्।
“हाम्रो आइटी टिमले डेटा एक्स्ट्र्याक्सन भए पनि सुरक्षित रहेको पुष्टि गरेको छ। पुरानो सर्भर पुनः प्रयोग गर्न नमिल्ने भएकाले नयाँ सर्भर स्थापना गर्नुपर्ने अवस्था छ,” डा. देवले भने।
उनका अनुसार, ह्याकिङको अनुसन्धानका लागि काउन्सिलले साइबर ब्युरोसँग समन्वय गरिरहेको छ।
“साइबर ब्युरोलाई जानकारी गराइसकेका छौं। फोरेन्सिक क्लियरेन्स प्राप्त भएपछि मात्र नयाँ सर्भरमा काम सुरु गर्नेछौं। ह्याकरको आइपी एड्रेस ट्रेस गर्ने प्रक्रिया पनि चलिरहेको छ।”
आइटी टिमको प्रारम्भिक मूल्यांकन अनुसार, ह्याकिङबाट केही फाइलहरू प्रभावित भए पनि डेटा परिवर्तन वा सम्पादन गरिएको छैन।
“हाम्रो सिस्टमको डेटा पूर्ण रूपमा सुरक्षित छ। ह्याकरले डेटा निकाले पनि सम्पादन गर्न सकेनन्,” डा. देवले स्पष्ट पारे।
साइबर ब्युरोले फोरेन्सिक प्रमाणको आधारमा अनुसन्धान अघि बढाइरहेको छ।