भन्सार विभाग र निजी क्षेत्रबीच लामो समयदेखि चल्दै आएको भन्सार मूल्यांकनसम्बन्धी विवाद समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गरेपछि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले त्यसको स्वागत गरेको छ।
नेपाल सरकारले विराटनगर भंसार कार्यालयमा परीक्षणका रूपमा भंसार मूल्यांकन डाटाबेस प्रणाली लागू गरेको र त्यसको परिणाम सकारात्मक देखिएपछि निकट भविष्यमा वीरगञ्ज भंसार कार्यालयमा पनि उक्त प्रणाली लागू गर्ने तयारी भइरहेको जानकारी पाएपछि संघले यसलाई व्यवसायमैत्री कदमको रूपमा स्वागत गरेको हो।
संघका अध्यक्ष हरिप्रसाद गौतमले भंसार विभागका महानिर्देशकसँग असोज २७ गते वीरगञ्जस्थित एकीकृत भंसार जाँचचौकीमा भएको छलफलपछि जारी वक्तव्यमा भनेका छन्, “लामो समयदेखि विवादित भंसार मूल्यांकन प्रणाली सुधार हुने संकेत देखिएको छ। यो प्रणाली लागू भएपछि स्वच्छ र पारदर्शी कारोबार गर्ने व्यवसायीहरूलाई सहज हुने भएकाले संघ यसमा पूर्ण सहयोग गर्नेछ।”
संघले सबै उद्यमी र व्यवसायीहरूलाई नयाँ मूल्यांकन प्रणालीमा सहकार्य गर्न र पारदर्शी व्यापारिक अभ्यासलाई प्रोत्साहित गर्न आग्रह गरेको छ।
त्यस्तै, नेपाल सरकारले असोज २४ गते गोरखापत्रमा “आधिकारिक व्यवसायिक व्यक्ति/ट्रस्टेड ट्रेडर्स” को मान्यता प्राप्त गर्नका लागि दरखास्त आह्वान गरेको विषयमा पनि संघले सकारात्मक प्रतिक्रिया जनाएको छ।
संघका अध्यक्ष गौतमले भने, “समाजका इमानदार व्यवसायीलाई मान्यता दिई व्यवसायमा थप सरलीकरण गर्ने यो प्रयास प्रशंसनीय छ। सरकारले व्यावसायिक क्षेत्रमा राम्रो र इमानदार उद्यमीलाई प्रोत्साहन गर्ने दिशा लिएकोमा हामी हार्दिक स्वागत गर्दछौं।”
संघले उक्त प्रणाली कार्यान्वयनले व्यवसायिक वातावरण पारदर्शी, प्रतिस्पर्धी र व्यवस्थित बन्ने विश्वास व्यक्त गरेको छ।
