राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले सोमबार साँझ वीरगन्ज महानगरपालिका–८ माइस्थानस्थित अभिषेक सर्राफको घरमा छापा मार्दा २ किलोभन्दा बढी सुन र १० किलोभन्दा बढी चाँदी बरामद गरेको छ।
राजस्व अनुसन्धान कार्यालय बारा पथलैयाको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हे.क्वा. र अन्य निकायहरूको संयुक्त टोलीले करिब चार घण्टा लामो अपरेसन सञ्चालन गरेको थियो।
सशस्त्र प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार, सर्राफको घरमा गरिएको खोजतलासमा २ हजार २५४.८६ ग्राम (करीब २.२५ किलो) सुन, १० हजार ३५४.०७ ग्राम (करीब १०.३५ किलो) चाँदी, साथै सुनजस्तो देखिने ५५९.१० ग्राम र चाँदीजस्तो देखिने ५५० ग्राम धातु बरामद गरिएको छ।
त्यसका साथै नेपाली रुपैयाँ १ लाख ९ हजार र भारतीय रुपैयाँ ४१ हजार ६० बराबरको नगद समेत फेला परेको कार्कीले जानकारी दिए।
बरामद गरिएका सबै धातु र रकमलाई आवश्यक प्राविधिक परीक्षण र मापनका लागि सुनचाँदी व्यवसायी संघ पर्सामा परीक्षण गरिएको र त्यसपछि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनले बताए।
राजस्व अनुसन्धान कार्यालयका अनुसार, बरामद धातु अवैध कारोबारसँग सम्बन्धित रहेको प्रारम्भिक आशंका गरिएको छ। घटनाबारे थप सूक्ष्म अनुसन्धान सुरु गरिएको र प्रमाणका आधारमा कडा कानुनी कारबाही अघि बढाइने तयारी भइरहेको जनाइएको छ।
छापामा अवैध सुन तस्करीसँग सम्बन्धित महत्वपूर्ण प्रमाणहरू फेला परेको र सो प्रकरणलाई थप उच्चस्तरीय अनुसन्धानमा लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ।