विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो सहित ३ वर्षभन्दा बढी कैद सजायको माग दाबी गर्दै मुद्दा दायर गरिएको हो।
महराविरुद्धको मुद्दामा मंगलबारदेखि थुनछेक बहस सुरु हुनेछ। उक्त बहसपछि उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने भन्नेबारे अदालतले आदेश जारी गर्नेछ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई आइतबार पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय चुरोट (भेप) मा लुकाइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लगाइएको छ।
घटनाको सुरुआत १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइट नम्बर FZ-0587 मार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसङबाट भएको थियो। उनका दुई सुटकेस शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो।
हानसङले पासपोर्ट फिर्ता लिएर अर्को दिन नेपाल छोडे पनि, उक्त भेप लामो समयसम्म भन्सारमै थन्किएको थियो। पछि सो भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सार कार्यालयले सीआईबीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो।
दुई महिनासम्मको अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको थियो। यस प्रकरणमा भन्सार नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।
पूरक अभियोजनका क्रममा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, राहुल महरा र नीमा गुरुङलाई पनि मतियारका रूपमा मुद्दा चलाइएको छ।
महरा संलग्न रहेको भनिएको उक्त सुन तस्करी प्रकरणमा सीआईबीले केही दिनअघि उनलाई बयान लिएपछि थप प्रमाणका आधारमा मुद्दा दायर गरेको हो।