गत असोज ११ र १२ गते अविरल वर्षाका कारण देशभर बाढीपहिरो परेको थियो, जसमा परेर ५२ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि प्राधिकरणले पत्रकार सम्मेलन गर्दै यस विषयमा विवरण सार्वजनिक गरेको हो।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, इलाममा ३९, पाँचथरमा १ र काभ्रेको डाँडामा १ जनाको मृत्यु भएको छ।
त्यसैगरी, उदयपुर र धनुषामा २/२ जनाको, इलाम, पाँचथर, खोटाङ, भोजपुर, सुनसरी, मोरङ र रौतहटमा १–१ जनाको मृत्यु भएको छ। रौतहटमा चट्याङ लागेर २ जनाको पनि निधन भएको छ।
भट्टका अनुसार रसुवामा चार जना र इलाममा १ जना अझै बेपत्ता छन्। बाढीपहिरोका कारण हालसम्म ४७ जना घाइते भएका छन्।
प्राधिकरणले विपत्का कारण प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने र आवश्यक सहयोग जुटाउने तयारी भइरहेको जानकारी दिएको छ।