वरिष्ठ प्रहरी अधिकारीहरूले जेनजी समूहको सडक प्रदर्शनका दौरान अप्रिय घटना हुनसक्ने सम्भावना भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई सुरक्षा खतराबारे जानकारी दिएका छन्।
सोमबार साँझ प्रहरी प्रमुखसहितका वरिष्ठ अधिकारीहरू जेनजीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग गर्दै प्रहरी कार्यालयमा दबाब बढाएपछि गृहमन्त्रीसँग भेट्न पुगेका थिए।
भेटमा प्रहरी अधिकारीहरूले हालको तरल अवस्थामा सडक प्रदर्शन गर्दा हुनसक्ने जोखिमको ब्रिफिङ दिएका थिए। प्रहरीका अनुसार, “प्रहरीका बर्दी र हतियार लुटिएका छन्, ती हतियार प्रयोग गर्न जान्ने जेलबाट भागेका पेशेवर अपराधीहरू अझै बाहिरै छन्। यदि ती बर्दी लगाएर प्रदर्शनमा आएर हतियार चलाए भने वास्तविक र नकली छुट्याउन सकिने अवस्था छैन। त्यसैले कम्तीमा सडक प्रदर्शन नगर्न मन्त्रीज्यूले जेनजीलाई आग्रह गर्नु आवश्यक छ।”
तर गृहमन्त्री अर्यालले भने, २३ गतेको आन्दोलन दमन गर्ने अधिकारीविरुद्ध जाहेरी नलिएसम्म जेनजीको आक्रोश मथ्थर पार्न नसकिने र आफूले भन्दैमा उनीहरूले प्रदर्शन रोक्ने अवस्था नहुने बताएका थिए। प्रहरी अधिकारीहरूले विधि र प्रक्रिया अनुसार जाहेरी प्रकृया अगाडि बढाउन आवश्यक रहेको र गृह मन्त्रालयले सूचना जारी गरेर शान्ति सुरक्षा कायम गराउन आग्रह गर्नुपर्ने माग गरेका छन्।
छलफलमा लुटिएका हतियार र बर्दी फिर्ता गर्ने रणनीति पनि प्रमुख विषय बनेको थियो। प्रहरीका अनुसार, मन्त्रालयको आग्रह अनुसार चाडबाडसम्म हतियार फिर्ता गर्ने समय थपिएको भए पनि एक पनि हतियार फिर्ता भएको छैन। अधिकारीहरूको भनाइ अनुसार, “यदि वास्तविक जेनजीले लगेको भए ती हतियार फिर्ता भइसकेको हुन्थ्यो। अब फिर्ता नगर्नेबारे कारबाहीको तयारी गर्नुपर्छ।”
प्रहरी अधिकारीहरूले कर्तव्यपालनका क्रममा भएका आक्रमण र लुटपाटलाई कारबाहीमा नल्याएपछि प्रहरीको मनोबल खस्किएको बताएका छन्। आगामी प्रदर्शनमा कसरी सुरक्षा सुनिश्चित गर्ने भन्ने विषयमा संगठनमा अन्यौल भएको छ।
गत भदौ २३ र २४ गते काठमाडौंमा जेनजी युवाहरूले भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवाको माग राखेर गरेको प्रदर्शनका क्रममा प्रहरीले जनाएको अनुसार करिब १,१०० हतियार लुटिएको थियो। तीमध्ये नेपाली सेनाको सहयोगमा मात्र ३ सय हतियार फिर्ता भएको छ, बाँकीको अवस्था अझै अनिश्चित छ।