वीरगञ्जको मुख्य सडक २५–२५ मिटर विस्तार गर्ने निर्णयविरुद्ध मेन रोड क्षेत्रका स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। सडक विस्तारका क्रममा पुस्तौँदेखि बसोबास तथा व्यवसाय गर्दै आएका स्थानीयका घर तथा संरचना विस्थापित हुने अवस्था सिर्जना भएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
वीरगञ्ज सडक विस्तार पीडित संघर्ष समितिको नेतृत्वमा स्थानीयवासीले बुधबार मौन जुलुससहित प्रदर्शन गरेका छन्। संघर्ष समितिका संयोजक कुन्दन रौनियारको नेतृत्वमा आदर्शनगर चोकबाट सुरु भएको जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्दै माईस्थान चोकमा पुगेर समापन भएको थियो।
प्रदर्शनकारीले हातमा कालो झण्डा बोकेर सडक विस्तारको निर्णयप्रति विरोध जनाएका थिए। प्रभावित घरधनी तथा व्यवसायीको समस्या समाधान नगरी सडक विस्तार अघि बढाइएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
माईस्थान चोकमा आयोजित सभालाई सम्बोधन गर्दै संयोजक रौनियारले सडक विस्तारको निर्णयले वर्षौंदेखि मुख्य सडक क्षेत्रमा बसोबास तथा व्यवसाय गर्दै आएका नागरिकमाथि अन्याय हुने अवस्था सिर्जना भएको दाबी गरे। प्रभावित नागरिकको सम्पत्ति, जीविकोपार्जन र व्यवसायको विषय सम्बोधन नगरी सडक विस्तार अघि बढाउन नहुने उनको भनाइ थियो।
रौनियारले सांकेतिक विरोधस्वरूप घरधनीले आफ्ना घर तथा व्यवसायिक प्रतिष्ठान अगाडि कालो झण्डा राख्ने अभियानसमेत सुरु गरेको जानकारी दिए। संघर्ष समितिले आन्दोलनको पहिलो चरणमा मौन जुलुस र कालो झण्डा राख्ने कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
स्थानीयवासीले उचित क्षतिपूर्ति, वैकल्पिक व्यवस्था र पुनर्स्थापनाको सुनिश्चितताबिना सडक विस्तार अघि नबढाउन माग गरेका छन्। उनीहरूले सडक विस्तारबाट लामो समयदेखि सञ्चालनमा रहेका व्यवसाय, रोजगारी र परिवारको जीविकोपार्जन प्रभावित हुने भन्दै सम्बन्धित निकायसँग तत्काल संवाद गर्न आग्रह गरेका छन्।
स्थानीयले वीरगञ्ज महानगरपालिका, सडक विभाग तथा अन्य सम्बन्धित सरकारी निकायले प्रभावित नागरिकसँग पर्याप्त छलफल र सहमति गरेर मात्रै सडक विस्तारको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्।
संघर्ष समितिले माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।