जर्जियाका प्रधानमन्त्री इराक्ली कोबाकिड्जेले शुक्रबार राष्ट्रपति भवनमा आक्रमण गर्ने प्रयास गरेको आरोपमा प्रदर्शनकारीहरूले सरकार पल्टाउन खोजेको दाबी गरेका छन्। उनले युरोपेली संघ (ईयू) माथि जर्जियामा ‘राजनीतिक हस्तक्षेप’ भएको आरोप पनि लगाएका छन्।
आइतबार प्रधानमन्त्री कोबाकिड्जेले विपक्षीहरूको आन्दोलनलाई ‘संविधान उल्टाउने षड्यन्त्र’ भनेका छन्। उनले ईयूका राजदूत पावल हेर्चिन्स्कीमाथि प्रदर्शनलाई समर्थन गरेको आरोप लगाउँदै ‘विशेष जिम्मेवारी’ रहेको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीले राजदूतलाई “सडकमा भइरहेको गतिविधिबाट टाढा रहन र स्पष्ट निन्दा गर्न” आग्रह गरेका थिए। उनले विदेशी एजेण्टलाई पूर्ण रूपमा निष्क्रिय पार्ने प्रतिबद्धता पनि जनाएका छन्।
शनिबार त्बिलिसीको केन्द्रमा भएको ठूलो प्रदर्शनमा दंगा प्रहरीले पेपर स्प्रे र पानी तोप प्रयोग गरी तितरबितर पार्ने प्रयास गरेको थियो। राष्ट्रपति भवनतर्फ लागेका केही प्रदर्शनकारीलाई रोक्ने क्रममा पाँच व्यक्ति पक्राउ परेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार भिडन्तमा २१ जना सुरक्षाकर्मी र ६ जना प्रदर्शनकारी घाइते भएका छन्।
प्रधानमन्त्री कोबाकिड्जेले राजधानीमा करिब ७ हजार मानिस सहभागी भएको दाबी गरेका छन्। उनले भने, “उनीहरूले कारबाही सुरु गरे, सत्ता पल्टाउने प्रयास गरे, तर असफल भए। त्यसपछि आफूहरू टाढा भएको भनी देखाउन थाले। तर कोही पनि जिम्मेवारीबाट बच्दैनन्, यसमा राजनीतिक जिम्मेवारी पनि पर्छ।”
प्रदर्शनहरू स्थानीय चुनावसँगै भड्किएका हुन्। सत्तारूढ जर्जियन ड्रीम पार्टीले सबै नगरपालिका जितेको दाबी गरेपछि विपक्षीहरूले परिणामलाई ‘नक्कली’ भन्दै अस्वीकार गरेका थिए। विपक्षी दलहरूले चुनाव बहिष्कार गर्दै ‘शान्तिपूर्ण क्रान्ति’ को आह्वान गरेका छन्।
केन्द्रीय त्बिलिसीको स्वतन्त्रता चोक र रुस्टाभेली एवेन्युमा हजारौँ मानिस भेला भई जर्जियाली र ईयूका झण्डा लहराएका थिए। केहीले सडक बन्द गर्दै आगो सल्काएका थिए भने केही प्रहरीसँग भिडन्तमा उत्रिएका थिए।
तर, जर्जियन ड्रीम पार्टीका नेताहरूले बारम्बार क्रेमलिनसँग कुनै सम्बन्ध नभएको स्पष्ट पार्दै आएका छन्। गत सातामा युरोन्यूजमा प्रकाशित विचार लेखमा प्रधानमन्त्री कोबाकिड्जेले भनेका थिए, “जर्जियाको बाटो युरोपेली, शान्तिपूर्ण र सिद्धान्तपूर्ण छ। हामी सुधारमा अडिग छौँ, दायित्वमा प्रतिबद्ध छौँ र परिणाम दिन केन्द्रित छौँ।”
जर्जिया गत वर्ष अक्टोबरको संसद् चुनावयता राजनीतिक सङ्कटमा रहेको छ। विपक्षीहरूले चुनाव ‘धाँधली’ भएको भन्दै निरन्तर प्रदर्शन गर्दै आएका छन्। प्रजातान्त्रिक धारकी राष्ट्रपति सालोमे जुराबिच्विलीले पनि त्यसबेला “यो पूर्ण धाँधली हो, जनताको मतको डकैती हो” भन्दै यसलाई ‘रूसी विशेष अपरेसन’ को हिस्सा भनेकी थिइन्।
सन् २०१२ मा अर्बपति र पूर्व प्रधानमन्त्री बिद्जिना इभानिसभिलीले स्थापना गरेको जर्जियन ड्रीम पार्टीमाथि पश्चिमी शक्तिहरूले लामो समयदेखि रूसतर्फ झुकेको आरोप लगाउँदै आएका छन्। सन् २०२४ को अन्त्यमा तत्कालीन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इभानिसभिलीमाथि प्रतिबन्ध लगाउँदै उनले “रूसको हितमा जर्जियाको प्रजातान्त्रिक र युरो–अटलान्टिक भविष्य कमजोर पारेको” आरोप लगाएका थिए।