स्वतन्त्र नाई संघ (SNS) को आयोजनामा नाई–ठाकुर समुदायका १०+२ (NEB) उत्तीर्ण विद्यार्थीहरूलाई विशेष सम्मान गर्ने भव्य कार्यक्रम मंगलबार, २०८२ भदौ ३१ गते (१६ सेप्टेम्बर २०२५) काठमाडौंको गौशालास्थित मिथिला थालीमा सम्पन्न भएको छ।
कार्यक्रमका सभापति संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार ठाकुर रहनु भएको थियो भने प्रमुख अतिथिको रूपमा डा. कमोद ठाकुर निराला उपस्थित हुनु भएको थियो। त्यस्तै, संघका संस्थापक तथा संरक्षक र हाल नेपाल वायुसेवा निगममा कार्यरत दिपक जंग ठाकुर, डा. शुभास यादव, महादेव ठाकुर, अक्षयलाल ठाकुर लगायत विशिष्ट र विशेष अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि डा. कमोद ठाकुर निरालाले दीप प्रज्वलन गरी गर्नुभएको थियो।
विद्यार्थीलाई विशेष सम्मान
१०+२ उत्तीर्ण विद्यार्थीलाई अक्षयलाल ठाकुरले टीका, महादेव ठाकुरले रुद्राक्षको माला, सभापति सन्तोष कुमार ठाकुरले खादा, तथा प्रमुख अतिथि डा. कमोद ठाकुर निराला र विशिष्ट अतिथि दिपक जंग ठाकुरले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।
प्रमुख अतिथि डा. कमोद ठाकुर निरालाको सम्बोधन
प्रमुख अतिथि डा. कमोद ठाकुर निरालाले आफ्नो सम्बोधनमा भने, “१०+२ उत्तीर्ण हुनु भनेको जीवनको अर्को महत्वपूर्ण चरणमा प्रवेश गर्नु हो। शिक्षा केवल परीक्षा पास गर्नु मात्र होइन, जीवनलाई सही बाटोमा अघि बढाउने शक्तिशाली अस्त्र हो। तपाईंहरू उच्च शिक्षा हासिल गरेर डाक्टर, इन्जिनियर, वैज्ञानिक वा प्रशासक बन्न सक्नुहुन्छ। तर, जहाँ पुगे पनि संस्कार, इमानदारी र समुदायप्रतिको जिम्मेवारी नबिर्सनुहोस्।”
विशिष्ट अतिथि दिपक जंग ठाकुरको सम्बोधन
विशिष्ट अतिथि दिपक जंग ठाकुरले शिक्षा र निरन्तरता सम्बन्धी दृष्टिकोण प्रस्तुत गर्दै भने, “आजको दिन मेरो लागि गर्वको दिन हो। तपाईंहरूको अनुहारमा देखिएको खुशीले हाम्रो समुदायको उज्ज्वल भविष्य देखाउँछ। १०+२ पास गर्नु केवल व्यक्तिगत उपलब्धि मात्र होइन, परिवार र समाजकै जित हो। यसलाई निरन्तरता दिन अब स्वतन्त्र नाई संघले यस्तो सम्मान कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्नेछ।”
उनले थपे, “शिक्षा भनेको समाजलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउने शक्ति हो। शिक्षा बिना कुनै पनि समुदायले प्रगति गर्न सक्दैन। त्यसैले, हामी सबैले आफ्ना बालबालिकालाई शिक्षामा प्रोत्साहित गर्नुपर्छ। अब तपाईंहरू विश्वविद्यालय पढ्न जानुहुन्छ, त्यसपछि अझ ठूलो अवसरहरू आउँछन्। तर जहाँ पुगिए पनि मेहनत, इमानदारी र समुदायप्रतिको प्रतिबद्धता कहिल्यै हराउनु हुँदैन।”
विद्यार्थीलाई प्रेरणा दिँदै उनले भने, “समुदायलाई गर्व हुने उपलब्धिहरू गर्नुपर्छ, हरेक कठिनाइलाई अवसरको रूपमा लिनुपर्छ, र शिक्षामा कहिल्यै सम्झौता नगर्नुहोस्।”
अन्य सम्बोधन र सन्देश
यस अवसरमा महासचिव महादेव ठाकुर, सभापति सन्तोष कुमार ठाकुरलगायतले पनि सम्बोधन गर्दै विद्यार्थीलाई निरन्तर अध्ययन, आत्मविश्वास र परिश्रमको बाटोमा अघि बढ्न प्रेरित गर्नुभयो।
वक्ताहरूले नाई–ठाकुर समुदायभित्र शैक्षिक उपलब्धिको महत्वलाई जोड दिँदै, यस्तो कदमले भविष्यका पुस्तामा शैक्षिक उत्साह जगाउने विश्वास व्यक्त गरे।