शार्क ट्याङ्क नेपालबाट ३.५ करोड रुपैयाँ लगानी जुटाएको नेपाली स्टार्टअप कम्पनी ट्यालेन्ट कनेक्ट सामाजिक सञ्जाल प्रतिबन्धका कारण व्यवसाय सञ्चालनमा संकटमा परेको छ।
कम्पनीका प्रबन्ध निर्देशक तथा संस्थापक दिवश थापाका अनुसार, लिङ्क्डइन चल्न छोडेपछि प्लेटफर्ममा आधारित स्टार्टअप धराशायी हुने जोखिममा परेको छ। “अनबोर्डिङको क्रममा रहेका केही क्लाइन्टसँग हुने कन्ट्र्याक्ट स्थगित भएको छ। गोल्यान, एमएडब्लू जस्ता ठूला क्लाइन्टहरू पनि अहिले पर्खिरहेका छन्। लिङ्क्डइन बन्द भएपछि हायरिङका तयारी पनि रोकिएको छ। हामी अहिले दोधारमा छौँ,” उनले भने।
शार्क ट्याङ्क नेपालमार्फत ट्यालेन्ट कनेक्टमा लगानी गर्ने ऋतुसिँह वैद्यले पनि प्रतिबन्धले व्यवसायमा निम्तिएको समस्याप्रति चिन्ता व्यक्त गरेकी छन्।
“सरकारको एउटा निर्णयले सबै योजना फेल भयो, अब हामी सानै टिमसहित भारत सर्ने योजना गर्दैछौँ। इन्डियामा नेट र मेटा–लिङ्क्डइन चल्छ, व्यवसाय विस्तार गर्न सकिन्छ,” थापाले थपे।
ट्यालेन्ट कनेक्ट हाल १०–१२ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ। कम्पनीका हार्डवेयर तथा सफ्टवेयर पूर्वाधार अनलाइनमै आधारित भएकाले, सामाजिक सञ्जाल प्रतिबन्धले साना र ठूला सबै व्यवसायलाई असर गरेको छ।
थापाले भने, “हिजोसम्म भीपीएनले अलि–अलि चलिरहेको थियो, अब त भीपीएनबाट पनि काम चल्दैन। सरकारको यो कदम डिजिटल नेपाल अभियानसँगै पूर्णतः विपरीत जस्तो देखिन्छ।”
उनले व्यवसाय निरन्तरता र लगानीकर्तालाई सुनिश्चित गर्न भारत सर्नुपर्ने अवस्था आएको स्पष्ट पारेका छन्।