मध्य नेपाल मिडियाद्वारा प्रकाशित मध्य नेपाल साप्ताहिकको १०औं वार्षिक उत्सवमा उत्कृष्ट महिला नेतृत्वलाई सम्मानित गरिने भएको छ ।
मधेश प्रदेशमा विभिन्न क्षेत्रको नेतृत्व गरिरहेका महिलाहरूमध्ये उत्कृष्ट महिला नेतृत्वलाई सम्मानित गरिने मध्य नेपाल साप्ताहिककी सम्पादक कविता खड्काले बताइन् । आउँदो भदौ ६ गते वीरगञ्जमा आयोजना हुने समारोहमा उत्कृष्ट महिला नेतृत्वलाई मध्य नेपाल महिला नेतृत्व अवार्ड २०८२ प्रदान गरिने जानकारी सम्पादक खड्काले जानकारी दिइन् ।
मध्य नेपालले सो सम्मानका लागि महिला नेतृत्वकर्ताबाट आवेदन मागेको छ । मध्य नेपालले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत सार्जजनिक गरिएको गुगल लिंक https://forms.gle/JFYWqSwEES1qPznQ9 मा गई विवरण भरेर आवेदन दिन सकिनेछ । मध्य नेपालको कार्यालयमा सम्पर्क गरी अफलाइन फाराम पनि भर्न सकिने प्रकाशनले जनाएको छ । यही भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवसरमा नीति निर्माण र नेतृत्वमा महिलाको सार्थक सहभागिताबारे प्यानल डिस्कसन आयोजना हुने भएको छ ।
महिला पत्रकारहरूको नेतृत्वमा २०७३ सालदेखि प्रकाशित मध्य नेपालले मधेशका महिलाका सरोकारहरूलाई प्राथमिकताका उठाउँदै आएको छ । राज्यका प्रत्येक तह र तप्कामा महिलाको सार्थक सहभागिताका लागि समतामूलक पद्धतिको वकालत गर्दै आएको छ ।
पत्रिकाले गृहणीदेखि नीति निर्माणको तहसम्मका महिलालाई समेट्दै अधिकांशतः मिडियाको पहुँचबाट टाढा रहेका आवाजविहीनहरूलाई स्थान दिएको छ । चुलोचौकोका समस्यामा रुमलिएकादेखि संसदमा प्रतिनिधित्व गर्ने तहसम्मका सरोकारलाई समाचारको केन्द्रमा राख्दै अहिलेसम्म ३६ हजारभन्दा बढी महिलाहरूको आवाज समेटिसकेको सम्पादक खड्काले बताइन् ।
‘पत्रिकाले समाचार, अन्तरवार्ता, डाक्टरको अन्तरवार्ता, साताको बोली, नेताको बोली, खोजी जवाफदेहिताको, आलेखलगायतका समाचार सामग्रीमा महिलाका सरोकारहरूलाई प्राथमिकतामा राख्दै आएको छ,’ खड्काले भनिन्, ‘साँचो समावेशी समावेशिताको लागि महिलाको सम्माजनक सहभागितालाई जोड दिएका छौं ।’
मध्य नेपालले अनलाईन पोर्टल मध्य नेपाल डट कम सञ्चालन गरेको छ । मध्य नेपाल पडकास्टमार्फत महिला सशक्तिकरणका लागि ‘नेतृत्वमा के चाहन्छन् महिला ?’ शृङ्खला प्रसारण गर्दै आएको छ ।