लायन्स क्लब अफ सेन्ट्रल सिटी वीरगञ्जले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ।
मंगलबार क्लबकी अध्यक्ष सुशीला साहको नेतृत्वमा दुई बोरा, दुई कार्टुन र छ झोला कपडा वीरगञ्ज कपडा बैंकको कार्यालयमा पुगेर बैंक अध्यक्ष लालबाबु सिंहलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका जोन पर्सन डा. लक्ष्मी थापा, डिस्ट्रीक्ट चेयरपर्सन गुड्डी जोशी, उपाध्यक्ष देवन्ती साह, सचिव कविता खड्का तथा सदस्यहरू सरिता सिंह, सुगन्धी कुशवाहा, सलोनी शिखा, जयन्ती चतुर्वेदी र रेखा ओझाको उपस्थिति रहेको थियो।
त्यस्तै, वीरगञ्ज कपडा बैंकबाट सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, श्रवणबहादुर रायमाझी, सचिव कन्हैया पटेल, कोषाध्यक्ष मनोज मिश्र, सदस्यहरू नवराज भट्टराई, कुन्दन मिश्रलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा क्लबकी अध्यक्ष साहले विगत केही वर्षदेखि विपन्न, असहाय, आगलागी तथा बाढी पीडितहरूका घरदैलोमा पुगेर सेवा गरिरहेको वीरगञ्ज कपडा बैंकको कार्यप्रति प्रशंसा व्यक्त गर्दै भनिन्, “हामी यस सेवाभावप्रति निकै खुसी छौँ। नयाँ कपडा किन्न नसक्नेहरूलाई नयाँ जस्तै कपडा उपलब्ध गराउने कपडा बैंकको अभियानमा हाम्रो साथ अगाडि पनि थियो, अहिले पनि छ र आगामी दिनहरूमा अझ बलियो साथ रहनेछ।”
सो अवसरमा कपडा बैंकका सल्लाहकार अधिवक्ता प्रकाश उपाध्यायले ‘तपाईं सँग धेरै छ भने दिनुहोस्, छैन वा आवश्यक छ भने लिई जानुहोस्’ भन्ने मुल मन्त्र आत्मसात गर्दै कोही पनि नाङ्गो नरहोस् भन्ने उद्देश्यले ६ वर्षदेखि वीरगञ्ज–८ मा कार्यालय स्थापना गरेर पर्सा र बाराका विभिन्न स्थानहरूमा सेवा दिइरहेको जानकारी दिए। उनले सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गर्दै सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गरे।
कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले लायन्स क्लब अफ सेन्ट्रल सिटीले विगतमा पनि विभिन्न सेवा कार्यहरूमा सकृय सहभागिता जनाउँदै आएको भन्दै नियमित रूपमा कपडा सहयोग गरेकामा बैंकको तर्फबाट धन्यवाद ज्ञापन गरे।