भारतले ओभलमा सोमबार सम्पन्न पाँचौं तथा अन्तिम टेस्टमा इंग्ल्याण्डलाई ६ रनले पराजित गर्दै एन्डरसन-तेन्दुलकर ट्रफी सिरिज २–२ को बराबरीमा टुंग्याएको छ। १२३ वर्ष यताकै ओभलमा सबैभन्दा ठूलो लक्ष्य पछ्याउने इंग्ल्याण्डको प्रयास अन्ततः पहिलो सत्रमै धरासायी भयो। भारतका तर्फबाट मोहम्मद सिराजले ५ विकेट लिँदै खेलको नायक बने भने प्रसिद्ध कृष्णाले पनि महत्वपूर्ण योगदान दिए।
अन्तिम दिनको नाटकीय समाप्ति
इंग्ल्याण्डलाई जितका लागि ३५ रन मात्र आवश्यक थियो। ओभरनाइट ब्याटरहरू जेमी ओभरटन र जेमी स्मिथ क्रिजमा उत्रिए भने चोटका कारण टेस्ट गुमाएका क्रिस वोक्सले साइडलाइनमै बाँया हातले ब्याटिङ अभ्यास गरिरहेका देखिए।
ओभरटनले कृष्णाको पहिलो ओभरमै दुई चौका प्रहार गर्दै दबाब कम गर्ने प्रयास गरे। तर सिराजले लगातार दुई ओभरमा दुई विकेट लिँदै खेलको रुख भारततर्फ फर्काए । उनले पहिलो ओभरमै स्मिथलाई बाहिरी बलमा झुक्याउँदै आउट गरे भने अर्को ओभरमा ओभरटनलाई एलबीडब्लु आउट गरे, जुन निर्णय अम्पायर कुमार धर्मसेनाले लामो विचारपछि दिएका थिए।
त्यसपछि कृष्णाले जोश टङलाई उत्कृष्ट यार्करमा क्लीन बोल्ड गरे, जसपछि वोक्स एक हात बाँधिएको अवस्थामा ब्याटिङ गर्न बाध्य भए। अन्ततः सिराजले गस एटकिन्सनलाई आउट गर्दै आफ्नो करिअरको पाँचौं पाँच विकेट हात पार्दै इंग्ल्याण्डलाई ३६७ रनमा समेटे।
भारतको दोस्रो पालीमा सानदार प्रदर्शन
भारतले दोस्रो इनिङमा ३९६ रन बनाएको थियो। ओपनर यशस्वी जैसवालले आकर्षक ११८ रन बनाए भने वासिङटन सुन्दरले ५३ रनको तीव्र पारी खेलेका थिए। भारतले इंग्ल्याण्डलाई जितका लागि ३७४ रनको विशाल लक्ष्य दिएको थियो — जुन ओभलको इतिहासमा चौथो इनिङमा कसैले पनि पुरा नगरेको थियो। यसअघि सन् १९०२ मा इंग्ल्याण्डले अस्ट्रेलियाविरुद्ध २६३ रनको लक्ष्य पछ्याउँदै एक विकेटले जित हात पारेको थियो।
ब्रुक–रुटको साझेदारी, तर अन्त्यमा निराशा
इंग्ल्याण्डका ह्यारी ब्रुक र जो रुटले चौथो विकेटका लागि १९५ रनको साझेदारी गर्दै इतिहास रच्ने सम्भावना उजागर गरेका थिए। ब्रुकले सिरिजकै दोस्रो शतक (१११ रन, ९८ बलमा) बनाएका थिए भने रुटले पनि सतर्क शतक बनाए। तर, ब्रुकको विकेटपछि दबाबमा परेको इंग्ल्याण्डको पारी पाँचौं दिनको पहिलो सत्रमा नै पतन भयो।
सिराज बने सिरिजका हिरो
मोहम्मद सिराजले ५ विकेट लिँदै न केवल भारतलाई जित दिलाए, उनी सिरिजमा सबैभन्दा धेरै विकेट लिने खेलाडी पनि बने (२० विकेट)। चौथो दिन उनले बेन डकेटलाई बारम्बार परिक्षण गरेपछि ५४ रनमा आउट गरेका थिए भने ओली पोपलाई पनि सस्तोमा पेवेलियन फर्काएका थिए।
ओली पोप, जो पाँचौं टेस्टमा घाइते बेन स्टोक्सको स्थानमा कप्तानी गरिरहेका थिए, खास लयमा देखिएनन्। उनले ३१ बलमा २७ रन बनाएर आउट भए।
ब्रुकले कृष्णाको बलमा कैच आउट हुँदा सिराजले सीमारेखामा खुट्टा बाहिर राखेपछि त्यो बल सिक्समा परिणत भएको थियो — जुन भारतका लागि महँगो साबित हुन सक्थ्यो। तर अन्ततः त्यसले नतिजा फरक पार्न सकेन।