नेपाल महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले अस्ट्रेलियाको प्रतिष्ठित निन्जा ए–लिग फुटबल प्रतियोगिता खेल्ने भएकी छन्। उनले न्युजिल्यान्डको क्लब वेलिङटन फोनिक्ससँग दुई सिजनका लागि औपचारिक सम्झौता गरेकी हुन्।
यद्यपि वेलिङटन न्युजिल्यान्डको क्लब हो, यसले अस्ट्रेलियाको निन्जा ए–लिग मा सहभागी हुँदै आएको छ। क्लबले सावित्रालाई क्लब र देश दुवैका लागि उत्कृष्ट गोलकर्ताका रूपमा मूल्याङ्कन गर्दै उनलाई अनुबन्ध गर्न पाउनु टोलीका लागि महत्वपूर्ण उपलब्धि भएको बताएको छ।
सावित्राले हालै सम्पन्न एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा लगातार दुई खेलमा ह्याट्रिकसहित ९ गोल गरेकी थिइन्।
त्यसअघि उनले भारतको महिला सुपर लिगमा २४ खेलमा ६० भन्दा बढी गोल गरेकी थिइन्। त्यसपछि उनले फ्रान्सको शीर्ष डिभिजन क्लब "एन अभेन्ट गुइनगाम्प" सँग आवद्ध भई युरोपको शीर्ष लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाएकी हुन्।
वेलिङटन फोनिक्सका कार्यवाहक मुख्य प्रशिक्षक एमी शेफर्डले सावित्राको आगमनप्रति खुसी व्यक्त गर्दै भनिन्, “हामी सावित्रालाई स्वागत गर्न पाउँदा गर्वित छौं। उनले फ्रान्समा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेकी छन्। उनको अनुभव, नेतृत्व र आक्रमण क्षमताले हाम्रो टोलीलाई बलियो बनाउनेछ।”
क्लबले सावित्राको प्राकृतिक मूभमेन्ट, लिंक-अप प्ले र फिनिसिङ क्षमताले टोलीको आक्रमणमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गरेको छ।
सावित्राको यो नयाँ यात्रा नेपाली महिला फुटबलका लागि अन्तर्राष्ट्रिय सफलता र पहिचानको अर्को उचाइ हुने अनुमान गरिएको छ।