भारतको अहमदाबादमा गत महिना भएको एयर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ।
भारतको वायुयान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले तयार पारेको उक्त प्रतिवेदनले विमान टेकअफ भएको केही सेकेन्डमै दुबै इन्जिनमा इन्धन आपूर्ति अचानक बन्द भएको र सोही कारणले दुर्घटना भएको उल्लेख गरेको छ।
प्रतिवेदनअनुसार ‘फ्युल कट अफ स्विच’ ‘रन’ मोडबाट ‘कट अफ’ मोडमा गएको थियो, जसले इन्धन प्रवाह रोकिएको र त्यसपछि विमानले नियन्त्रण गुमाएको बताइएको छ।
तर, यो स्विच आफैँ ‘कट अफ’ मोडमा कसरी गयो भन्नेबारे प्रतिवेदनमा स्पष्ट विवरण छैन। यसै कारण विमान उड्डयन विज्ञहरू र सञ्चारमाध्यमहरूले प्रतिवेदनलाई अस्पष्ट, अपुरो र प्रश्न उठाउने खालको भन्दै आलोचना गरेका छन्।
एभियसन विज्ञ संजय लजारका अनुसार, फ्युल कट अफ स्विच सामान्यतया पाइलटले इन्जिन सुरु वा बन्द गर्न प्रयोग गर्ने गर्छन्। आकस्मिक अवस्थामा कम्प्युटर प्रणालीद्वारा पनि स्वचालित रूपमा यो स्विच प्रयोग हुन सक्छ। तर, वर्तमान प्रतिवेदनले स्विच आफैँ कसरी अफ भयो भन्ने कुरा खुलाएको छैन।
पूर्व पाइलट क्याप्टेन शक्ति लुम्बाले टेकअफका बेला दुबै इन्जिन बन्द भएमा पाइलटले तुरुन्त ‘मेमोरी आइटम’अनुसार फ्युल स्विच पुनः अन गर्नुपर्ने बताए। तर, प्रतिवेदनमा यस्तो प्रयास गरिएको वा नगरेकोबारे केही उल्लेख छैन।
ब्ल्याकबक्स परीक्षण अनुसार ककपिट भ्वाइस रेकर्डरमा क्याप्टेनले को–पाइलटलाई ‘के तिमीले स्विच कट अफ गर्यौ ?’ भनेर सोधेका छन्। जवाफमा को–पाइलटले ‘होइन’ भनेका छन्। यो संवादले झन् शंका जन्माएको छ कि स्विच आफैँ कसरी ‘कट अफ’ मोडमा गयो।
क्याप्टेन मोहन रंगनाथनका अनुसार टेकअफका बेला को–पाइलट विमान उडाइरहेका थिए भने क्याप्टेन ककपिटमै थिए। त्यस बेला दुबै पाइलटका हात नियन्त्रण स्तम्भमै हुने भएकाले स्विच कसरी अफ भयो भन्ने विषय अझै अस्पष्ट छ।
प्रतिवेदनअनुसार दुबै इन्जिन बन्द भएपछि विमानको विद्युत आपूर्ति रोकिएको थियो र आपतकालीन ‘र्याम एयर टर्बाइन (RAT)’ सक्रिय भएको देखिन्छ। त्यसपछि सीमित मात्रामा विद्युत आपूर्ति भएको र यही आपतकालीन अवस्था थियो भन्ने उल्लेख गरिएको छ।
विमान उड्डयन क्षेत्रका विज्ञहरूले प्रारम्भिक प्रतिवेदन स्पष्ट नभएको र योले प्रश्नको उत्तर दिनुको सट्टा अझ बढी शंका जन्माएको टिप्पणी गरेका छन्। सञ्जय लजारले ककपिट भ्वाइस रेकर्डरको सम्पूर्ण ट्रान्सक्रिप्ट सार्वजनिक नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
क्याप्टेन रंगनाथनले गहिरो अनुसन्धान नगरी तयार पारिएको प्रतिवेदनलाई गम्भीर त्रुटीको संज्ञा दिँदै प्रयोग गरिएको भाषामै प्रश्न उठाएका छन्।
एयर इन्डियाले दुर्घटनामा परेका यात्रुका परिवारप्रति सहानुभूति प्रकट गर्दै अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ। तर, प्रतिवेदनबारे कम्पनीले कुनै टिप्पणी गरेको छैन।
उता, भारतका उड्डयन मन्त्री राम मोहन नायडूले एएआईबीको कामको प्रशंसा गर्दै प्रतिवेदन पारदर्शितापूर्वक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको दाबी गरेका छन्।
अमेरिकी नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डका पूर्व निर्देशक पीटर गोएल्जले पनि प्रतिवेदनको प्रशंसा गरेका छन्।
तर, हवाई उड्डयन क्षेत्रका धेरैजसो विज्ञहरूले भने प्रतिवेदनप्रति गम्भीर शंका र आलोचना व्यक्त गरेका छन्।