यस वर्षको दशैंले अर्थसामाजिक दैनिकीलाई चलायमान पार्ला भन्ने अपेक्षा गरिए राजनीतिक, आर्थिक र सामाजिक असुरक्षाले सामान्य अवस्था फर्काउन सकेको अवस्था छैन । कोरोना महामारीपछि थलिएको अर्थतन्त्र र त्यसयताका दशैंभन्दा यो दशैंमा नयाँ अभास हुने अपेक्षा थियो । तर, जेनजी आन्दोलन र त्यसयताको परिदृष्य सकारात्मक भएनन् । आर्थिक र सामाजिक दैनिकीका नयाँ खालका आशंका र अवरोध कायमै रहेको छ ।
दशैं सांस्कृति र सामाजिक सद्भावको पर्व त हो, तर साँच्चिकै विपन्न परिवारले दशैंलाई खुशीसाथ मनाउनु सजिलो छैन । दशैंको सबैभन्दा ठूलो खुशी भनेको परिवार भेला हुनु, घरमा पाकेको मिठोमसिनो खानु, टीका लगाउनु, आशीर्वाद लिनुदिनु र सँगै बस्नु रमाउनु हो । तर, यसका लागि केहीलाई आर्थिक अभावले रोक्छ, त कतिलाई परिस्थितिको परिबन्दले । वैदेशिक रोजगारीमा रहेको लाखांै नेपालीहरू यो पर्वमा घर फर्किने मौका पाउँदैनन् ।
दशैंजस्तो ठूलो पर्वको बेला व्यापार–व्यवसायको अवस्था सामान्यतः अत्यन्तै चलायमान हुन्छ । किनभने यो बेला बजारमा उपभोग बढ्छ । तर, अहिले बजार सुनसान छ । वीरगञ्जजस्तो मुख्य आर्थिक शहर सुनसान प्रायः देखिन्छ । तर, सीमापारिको रक्सौल बजारमा थेगिनसक्नु भीड छ । पारिको बजारमा तुलनात्मक सस्तो सामान पाएपछि दैनिक उपभोग्य बस्तुदेखि लत्ताकपडा किन्न उतै पुग्ने गरेका छन् । स्वदेशको बजारमा किनमेल घटेको छ । यसोत, समग्र खपत नै घटेको छ । आम नागरिकको क्रयशक्ति कमजोर भएकाले आवश्यकबाहेक अन्य सामान किन्ने चाहना घटेको छ ।
कपडा, जुत्ता, इलेक्ट्रोनिक्स, सवारी साधनजस्ता क्षेत्रमा बिक्री निकै कमजोर छ । मानिसहरू आवश्यक पर्ने बस्तुमात्र किन्ने प्रयास गरिरहेका छन् । पसलहरूमा भीड भए पनि बिक्री कम देखिएको छ । महँगी र अस्थिरताको डरले उपभोगमा कटौती भएको छ । दशैंका लागि सामान्य सामग्रीहरूको मूल्य खाद्य, मासु, कपडा, सजावटका सामग्रीमा उल्लेखनीय वृद्धि भएको छ । केही व्यापारीहरूले बजार अनुगमन कमजोर भएको अवस्थाको फाइदा उठाएर मूल्य वृद्धि पनि गरेका छन् ।
उद्यमी र व्यापारीले घाटा व्यहोर्नु परेको छ । धेरै ठाउँमा स्टक भए पनि खरिद नभएकाले पूँजी नै थुनिएको छ । त्यस्तै ठूला व्यवसाय र बैंकिङ क्षेत्रमा पनि दबाब कम छैन । आयातमा कमी, माग घट्दा ठूला व्यवसाय पनि सुस्त छन् । ऋण लिएका व्यवसायीलाई ब्याज तिर्ने चुनौती, बैंकिङ क्षेत्रमा पनि असन्तुलन व्यापक छ । उत्सवमा आशा, तर अनिश्चितता छ । अहिलेको स्थिति हेर्दा बजार खुलेको छ, तर खरिद गर्ने मन र पैसा दुवै सीमितता छन् भन्ने देखिन्छ ।
यस वर्षको जेनजी आन्दोलन र अन्य विरोध–प्रदर्शनहरूले व्यवसाय, बजार र उपभोक्ताको मनोबलमा ठूलो असर पु¥याएको छ । विरोधका कारण सरकारका केही कार्यालयहरू, यातायात सेवा सुविधाहरू प्रभावित भएका छन् । चीनसँगको सडक मार्ग अवरुद्ध हुनु, रसुवागढी र तातोपानी नाकामा प्राकृतिक विपद्ले असर पु¥याएको छ । आन्दोलन र प्रशासनिक परिवर्तनका कारण सरकारका निरीक्षण र नियमनका निकायहरू पूर्ण रूपमा सञ्चालित भइसकेका छैनन् । बजारमा गुणस्तर र मूल्यवृद्धिसम्बन्धी अनियमितता बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ । खुला सीमाबाट आयात÷आपूर्तिमा राजस्व चुहावटको समस्या छ । सामान समयमै आएको छैन । आयात प्रभावित भएको छ । समग्रमा आपूर्ति नै सीमित भएको छ ।
जेनी आन्दोलनलगत्तै केही समय सीमापार व्यापारिक गतिविधि निकै घटेको थियो । सीमास्थलका बजारहरू सुनसान भएका थिए । किन कि, नेपाली ग्राहक वा भारतीय व्यापारी दुवै पक्षमा चेतावनी र असुरक्षा कारणले आवागमन कम भएको थियो । सीमा नाकाहरुबाट सामान पठाउन र ल्याउनमा समय र लागत दुवै बढेको थियो । पारिवारिक, सामाजिक र आर्थिक सम्बन्धहरू सीमापार चल्ने हुनाले बदलाब र गति अवरुद्ध हुँदा मनोबल घट्ने कुराहरू पनि देखिएका छन् । सीमा नाकाहरू बन्द हुनाले भौतिक आवागमन र आपूर्ति चक्र प्रभावित भएको थियो । फलफुल, तरकारी र खानपानका अन्य ताजा सामानहरू समयमै पुग्न सकेनन् । केही सीमा नाकाहरू र चेक पोइन्टहरु पुनः खोलिने क्रममा छन् । केही सामग्रीहरू पठाउन शुरू गरिएको छ । खरिददारी घटेको व्यापारीहरूको भनाइ छ । सामान्य दिनहरूमा बजारमा ठूलो भीड हुन्थ्यो । चाडपर्वलक्षित मालसामानको आयात पनि यो वर्ष खासै नभएको भन्सार अधिकारीले बताएका समाचार सञ्चारमाध्यममा आएकै छन् । यसको असर पनि दशैं अर्थतन्त्रमा जाने नै भयो ।
पर्वलाई आत्मीयता, माया र साथले अझै अर्थपूर्ण बनाउँछ । तर, पछिल्लो जेनजी प्रदर्शनको घटनाक्रममा परी जसको रोजीरोटी खोसिएको छ, जसको धनजनको ठूलो क्षति भएको छ, जसले काखको सन्तान गुमाएको छ । उनीहरूका लागि पर्व थप पीडा बनेको छ । प्रियजन गुमाउनुको पीडा अनुभूतिको विषय हो, अरूले त अनुमानमात्रै गर्ने सक्छन् ।