पर्सा र बारामा हैजा महामारी नियन्त्रणका लागि व्यापक खोप अभियान सुरु भएको छ। पर्सामा आइतबारदेखि र बारामा २८ असोजदेखि सञ्चालन हुने अभियान मार्फत वीरगञ्ज महानगरपालिका सहित पर्सा–बाराका २० पालिकामा लक्ष्यित जनसंख्यालाई खोप उपलब्ध गराइनेछ। पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई पहिलो डोज खुवाएर अभियानको थालनी गरिएको छ।
पर्साको १४ वटै पालिका र बाराको जितपुरसिमरा तथा कलैया उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा अभियान सञ्चालन हुनेछ। पर्सामा १ लाख १६ हजार १ सय १८ घरधुरीका ६ लाख ५२ हजार १ सय २९ लक्षित जनसंख्यालाई खोप खुवाउने लक्ष्य राखिएको छ। अभियानका लागि ११७ स्वास्थ्य संस्था र १ हजार ९ सय ५१ खोप केन्द्र तोकिएका छन् भने हरेक घरमा स्वयंसेवक पुगेर खोप दिने व्यवस्था मिलाइएको छ।
स्वास्थ्य कार्यालय पर्साका तथ्यांकअनुसार हालसम्म १ हजार ६ सय ८० जनामा हैजा तथा झाडापखालाका बिरामी भेटिएका छन्। आरडिटी परीक्षणबाट तीन जनामा गम्भीर हैजा संक्रमण पुष्टि भएको छ, जसमा किड्नी डायलाइसिस गर्नुपर्ने अवस्था आएको थियो। हैजा फोकल पर्सन जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार बाढी प्रभावित क्षेत्रमा पानी परीक्षण गर्दा झाडापखाला गराउने इ.कोली जीवाणु भेटिएको छ।
अभियानका लागि विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ, रेडक्रस लगायतको समन्वयमा बनेको अन्तर्राष्ट्रिय समन्वय समूह (ICG) ले मुखबाट लिने हैजा विरुद्धको ‘ओरल कोलेरा भ्याक्सिन’ (OCV) उपलब्ध गराएको छ। पर्सा–बाराका लागि १० लाख १८ हजार १ सय डोज इयूभिकोल–एस भ्याक्सिन आइपुगेको छ र एक वर्षमाथिका सबैलाई एक डोज खोप दिइने छ।
अभियान कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतम, WHO र युनिसेफको टोली पर्सामा खोप अभियानमा सक्रिय छन्। डा. गौतमले खोप लिन पाउनु एउटा अवसर भएको भन्दै सबैले खोप लिनुपर्ने बताए।
डा. गौतमका अनुसार खोपले रोगसँग लड्ने क्षमता बढाउने, रगतको नलीमा लामो समयसम्म मेमोरी सेलको रूपमा रहेर काम गर्ने क्षमता विकास गर्नेछ। हैजा विरुद्धको खोपले ६ महिनासम्म हैजा लाग्न नदिने प्रभावकारी प्रतिरोध क्षमता विकास गर्छ। तर उनले खोपलाई अन्तिम विकल्प भनेको बताएका छन्।
डा. गौतमले भने, “सरसफाइ सम्बन्धी व्यवहार परिवर्तन सधैंको लागि हैजा विरुद्धको हतियार हो। पानी उमालेर वा क्लोरिन हालेर पिउने, बासी सडेगलेका फोहोर खाना नखाने, तरकारी राम्ररी धोएर पकाएर खाने गर्दा हैजा लाग्दैन। खोप अन्तिम विकल्प हो। खोप लगाउनुपर्ने अवस्था आउनै दिनु हुँदैन।”
उच्च ज्वरो भएका व्यक्ति, संक्रमणको उपचार गराइरहेका बिरामी बाहेक मधुमेह, रक्तचापका औषधि सेवन गर्ने बिरामी, गर्भवती र सुत्केरीले समेत खोप लिन सक्ने डा. गौतमले जानकारी दिए।