नवरात्री शुरू भएसँगै वीरगञ्जको गहवामाई मन्दिरको रौनक बढेको छ । सामान्य दिनहरूभन्दा नवरात्रमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । गहवामाई मन्दिरमा चौथो पुस्तादेखि प्याकुरेल परिवारले पूजाआजा गराउँदै आएको छ । त्यही प्याकुरेल परिवारकी उत्तमा प्याकुरेलसँग नवरात्रिको सेरोफेरोमा गरिएको कुराकानी:
नवरात्रि किन गरिन्छ ?
नवरात्रिमा देवीको नाम स्मरण गर्नाले मनुष्यको दुःखकष्ट, सङ्कट सजिलैसँग हट्न सक्छ भन्ने धार्मिक विश्वास छ । समाजमा सज्जन र दुष्ट प्रवृति भएका मानिसहरू पाइन्छन् । देवताको पालामा पनि दुष्टहरूको थिए र अहिलेको समयमा पनि दुष्ट मानिसहरूको कमी छैन । देवताको पालामा ब्रह्मालाई खुशी पार्न दैत्यहरू धेरै तपस्या गर्थे । बह्माबाट पाएको ज्ञानलाई गलत कामको लागि प्रयोग गर्थे । यसैक्रममा महादेवले पार्वतीलाई आफू बसेको बाघको छालाको आसनमुनि लुकाएर राख्ने गर्दथे । मैसासुरले महादेवले लुकाएर राखेको पार्वती मागेर लग्यो । त्यसो भएर हाहाकार हुने भएकाले विष्णु भगवानले मोहिनी रुप लिएर पार्वतीलाई मागेर फिर्ता ल्याए । दक्षप्रजापतिको यज्ञमा महादेवको निन्दा गर्दा सतीदेवीले यज्ञको अग्नीमा हामफाली देहत्याग गरिन् । माताको शरीर जल्न सकेन् । त्यही समयमा दक्षलाई भष्म गर्न बलभद्रकालीको उत्पत्ति भएको हो । सीतालाई रावणले हरण गरेर लगेको र रावणसँग युद्ध गरेर रामले रावणको वध गरेकोले देवीहरूको शक्तिलाई उत्साह थप्न नवरात्रिमा पूजाआराधना गरिन्छ । देवीको आरधानाले गर्दा दैवी शक्तिमा वृद्धि हुने र मनुष्यको कष्ट हट्ने भएकोले विशेष महत्वका साथ पूजा गरिन्छ । असत्यमाथि सत्यको जीत भएकोले हर्सोल्लासको साथ मनाइन्छ ।
नवरात्रिमा कुनकुन देवीको आराधना गरिन्छ ?
नवरात्रिको पहिलो दिन दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिन्छ । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको विधिपूर्वक पूजा आराधाना गरिन्छ । दोस्रो दिन ब्रह्माचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्नुका साथै दशैं घर वा पूजा कोठामा फूलपाती भित्र्याइन्छ । आठौं दिन महागौरी देवीको पूजा आराधना गरिन्छ भने नवरात्रिको अन्तिम दिन सिद्धिदात्री देवीको पूजा आराधाना गरिन्छ ।
नवरात्रि पूजा आराधनाबाट के फाईदा हुन्छ ?
नवरात्रिको पूजा गर्दा आत्मशान्ति हुन्छ । माताको कृपाले व्यक्तिमात्र नभएर देशमा पनि शान्ति छाउँछ । नवरात्रिको पूजा सबेरै गर्ने चलन छ । सप्तमीको दिन विभिन्न किसिमका पातहरू ल्याएर फूलपाती भित्र्याइन्छ । माटोको शुद्ध भाडामा बालुवा राखेर जौलाई भिजाएर जमरा राखिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधाना गर्दछन् । नौ दिनसम्म पूजा आराधाना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
गहवामाई मन्दिरमा बली दिइन्छ ?
सप्तमीको दिन कालीको पूजा गरिन्छ । कालीमातालाई बली दिइँदैन । कालीमाताका गणहरूलाई खान बली दिने चलन छ । कालीमाताका गणहरूलाई हरेक वर्ष पञ्चवली चढाइन्छ । गहवामाई मन्दिरबाहिर कालभैरवको मन्दिर अगाडि बली दिइन्छ । बली चढेका टाउकोलाई खान नहुने, खाएमा घरको मूलीमा अनिष्ट हुने भएकोले खाल्डोमा गाडिन्छ । कागेभेडा, बोका, हाँस, कुखुरा र परेवाको बली दिइन्छ । बली सकिएपछि राक्षसको लागि सुँगुर बली दिइन्छ र बली बन्द हुन्छ । हरेक वर्ष ३÷४ सयको हाराहारीमा बली चढ्ने गर्दछ । जो माछामासु खाँदैनन्, उनीहरूले नरिवल चढाउने गर्दछन् ।
भक्तजनलाई के भन्नु हुन्छ ?
हिन्दु धर्मालम्बीहरूले भगवानप्रति आस्था र विश्वास राख्नु पर्छ । माताको कृपाले सत्य मनले आराधाना गरेमा जसको सन्तान छैनन । सन्तान प्राप्ति हुन्छ । बोली नआएको मानिसको बोली आएको पनि छ । माता बनेर आएकाहरूलाई माताको जलले निको भएको पनि छ । श्रद्धाका साथ माताप्रति आस्था विश्वास राखेमा अवश्य पनि पूरा हुन्छ ।