दशैंको धूमधाम सकिएपछि दीपावलीको रमझम शुरू हुन्छ । पहाडको गाउँठाउँमा सरसफाई तथा रङरोगन दशैंभन्दा पहिला नै भइसकेको हुन्छ भने तराई मधेशका गाउँहरूमा यी कामहरू दशैंपछि र तिहारभन्दा पहिलेमात्र हुन्छ । तराईका गाउँहरूका पक्की घरहरूमा रङरोगन र सरसफाईको काम शुरू हुन्छ भने कच्ची घरहरूको लिपपोत तथा वरिपरिको घाँस र खरको सफाईको काम शुरू हुन्छ । धेरै वर्षात् हुने समय हालैमा सकिएको हुनाले वर्षात्को कारणले बिग्रिएभत्किएका फुसका पर्खाल (टाटी)मा माटोले लिप्नेपोत्ने काम आवश्यक भएको हुन्छ । फुसको टाटीमा बान्हा चलाएर दुरुस्त पारिन्छ । ‘मटखोना’बाट माटो ओसार्ने काममा गाउँघरका महिला, युवती तथा किशोरीहरूलाई भ्याईनभ्याई हुन्छ । माटो ओसारेर त्यसमा पराल वा गहुँको भुस मिसाई पानी हालेर कादो(लेदो) तयार हुन्छ र त्यही कादोले फुसको पर्खाल (टाटी) लिप्ने (मसिनल) काम हुन्छ । त्यो लेवार सुकेपछि गोबर र माटोको मिहीन लेदो बनाएर छेवछल गर्ने काम हुन्छ । त्यसपछि पहेलो माटोको घोल बनाएर पोत्ने काम हुन्छ । यस प्रकारले पुरानो घर पनि नयाँजस्तो भएर आउँछ ।
कार्तिक महिनाको कृष्ण पक्षको तेरस तिथिदेखि यमपञ्चक शुरू हुन्छ । तेरसको दिनलाई धनतेरस भन्दछन् र यस दिन सुन, चाँदी, पित्तल, तामा, स्टील वा अल्मुनियमजस्ता गच्छेअनुसारको धातुको भाँडो वा गरगहना घरमा भित्र्याउँदा शुभ हुन्छ भने जनविश्वास रहेको छ । चतुर्दशी तिथिलाई नरक चतुर्दशी वा ‘जमदियरी’ भन्दछन । यस दिन रात्रिको समयमा खानपिन पछि एउटा दियो बालेर गोबरको मानमाथि अक्षता फूल तथा सिक्काका साथ राखिन्छ । भोलिपल्ट बिहानै कसैले न देख्ने गरी त्यो पैसा टिपेर खल्तीमा राखी जुवा खेल्न गएमा हारिँदैन भने विश्वास रहेको छ । तेश्रो दिन लक्ष्मी पूजा हुन्छ । साँझपख घरघरमा पाकेको माटाको दियो घरको कुनाकाप्चा तथा कौसीमाथि लहरै बालिन्छ । गच्छेअनुसारका पटाका, छुडछुडी र रकेट उडाएर मनोरञ्जन हुन्छ । गृहस्थको घरघरमा दाल, भात, दही र विभिन्न किसिमका तरुवा, पकौडी, पापड, अचारजस्ता परिकार तयार हुन्छन्, जसलाई सबैभन्दा पहिले गाईगोरुलाइ खुवाएरमात्र घरका मानिसहरूले खान्छन् । गृहस्थहरूको हली आएर गाईगोरुका सिङगमा तेल लगाई दिन्छ । यसै बेला कुनै गोठबाट भोजपुरी गीतको आवाज आउँछ– भइया रे...केकर खोनावल हउअे सागर पोखरवा, केकर बन्हावल हउअे आँट रे..बाजन बोल..। गीतको कडी सुनिसकेपछि अर्को गोठबाट जवाफ आउँछ– भइया रे.. आरे भाइ... राजाके खोनावल हउअे सागर पोखरवा, रानी के बन्हावल हउअे आँट रे.. बाजन बोल । यस प्रकारले घण्टौं प्रश्न उत्तर भइरहन्छ । अन्त्यमा हली, हलीका छोरानातीहरू गृहस्थकै घरमा साथैमा खाना खान्छन् र घरमा रहेका महिलाहरूका लागि खाना लग्दछन । हलीले ल्याएको तेलको भाँडोबाट गृहस्थको कपालमा तेल लगाउन अनिवार्य हुन्छ, किन कि त्यसो गर्दा शुभ हुन्छ भन्ने मान्यता छ ।
रात्रि प्रहर वा शुभ साइतमा लक्ष्मीमाताको श्रद्धा र विश्वासका साथ पूजाआराधना हुन्छ । भगवती महालक्ष्मी चल–अचल, दृश्य–अदृश्य सबै सम्पत्तिहरू, सिद्धिहरू तथा निधिहरूको अधिष्ठात्री साक्षात नारायणी हुन् । भगवान श्रीगणेश सिद्धिबुद्धिका तथा शुभलाभका स्वामी तथा सबै विघ्नहरूका नाशक हुन । श्रीगणेश सतबुद्धि प्रदान गर्ने देवता हुन । अतः महालक्ष्मीका साथै गणेशको पूजनले कल्याण र आनन्द प्राप्त हुन्छ । महालक्ष्मी तथा श्रीगणेशको पूजनका साथै श्री देहलीविनायक, मसिपात्र, लेखनी, सरस्वती, कुबेर, ढक–तराजू, तथा दीपमालाको पनि विधिवत् पूजन गर्ने परम्परा रहेको छ ।
तराईमा रहेको विश्वासअनुसार माता लक्ष्मीको यस प्रकारले पूजा आराधना गर्दा लक्ष्मीका साथै उनकी बहिनी दरिद्रा पनि आईपुग्दछिन । लक्ष्मीपूजाको रातभरि दुवै दिदीबहिनीलाई घरमै बास गराएर रात्रिको तेश्रो प्रहरमा दरिद्रालाई घरबाट धपाइन्छ । यस कामको लागि घरमुली महिलाले नाङ्लोलाइे उल्टो पारेर हसियाले ठोकि ठटाएर– इशर रहस , दलिदर भागस... इशर रहस , दलिदर भागस... इशर रहस , दलिदर भागस... भन्दै घरको कुनाकाप्चा चहार्दै अन्त्यमा लगेर गोबरको मानमा हँसिया छिराएपछि दरिद्राको प्रभावबाट कल्याण हुन्छ भने जनविश्वास रहेको पाइन्छ ।
चांैथो दिन गोवर्धन पूजा हुन्छ । घरको द्वारमा घरमूलीले, घरमा रहेको गाईगोरु, भखारी, सिलौटो, जातो आदिको प्रतीकको रुपमा गाईको गोबरले आकृति बनाउँछिन् र सिन्दूर र अक्षताले पूजा गर्छिन् । त्यही दिन केही मानिसहरूले भैंसीको डाढ खेलाउँछन् । सुँगुको पूजा गर्ने बेलामा भोजपुरीको लग्न शुरू हुन्छ– सगुनी से सगुनी सगुनी सऽऽरा...हिने .. सगुनिया भल पावल, लगनिया अगुताइल हे...। ताहि सगुनी चलेलन ब्रह्म बाबा... बिहसत पइसिने आवास.. सगुनिया भल पावल ..., लगनिया अगुताइल हो...। चौथो दिन बिहानै गोधन कुट्ने काम हुन्छ । गाउँभरिको गोबरको आकृतिलाई उखेलेर एक ठाउँमा ल्याएर हलोले कुटिन्छ । नानाथरि गीत गाउँछन, दाईभाईलाई सराप्दछन, जिभ्रोमा काँडा रोप्दछन् र पुनः आशीर्वाद दिन्छन् । पाँचौं दिन बजडी ख्वाएर भाईटीका लगाएपछि यम पञ्चक समाप्त हुन्छ । यसपालिको दीपावलीलाई स्वागत गर्दै माता लक्ष्मीलाइ प्रसन्न पारौं ।
त्वं ज्योतिस्तवं रविश्चन्द्रो विद्युदग्निश्च तारकाः ।
सर्वेषां ज्योतिषां ज्योतिर्र्दीपावल्यै नमो नमः ।।