बिरगंज पब्लिक कलेजको २५ औं वार्षिक उत्सवको अवसरमा आयोजित "बिपिसी युवा महोत्सव २०२५" भव्य समारोहका साथ सम्पन्न भएको छ। शिक्षा, उद्यमशीलता, सिर्जनशीलता र मनोरञ्जनको संगम स्वरूप आयोजित यस महोत्सवले युवाहरूलाई बहुआयामिक क्षमता विकासको अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
महोत्सवको प्रमुख आकर्षणमध्ये "नेभिगेसन एण्ड नेटवर्किङ" कार्यक्रम विशेष चर्चाको केन्द्र बन्यो। सहभागी विद्यार्थी तथा युवाहरूले आफ्ना योजना, अनुभव र विचारहरू साझा गर्दै परिचय आदानप्रदान र नेटवर्क विस्तारको अवसर पाएका थिए। सो अवसरमा सहभागीहरूले बिरगंज पब्लिक कलेजमा अध्यापन हुने +2, BBA, BIM, BBS, BIT, MBA, MBS लगायतका कार्यक्रमहरूको बारेमा विस्तृत जानकारी पनि प्राप्त गरे।

महोत्सवमा बिरगंजमै उत्पादन भएका वस्तुहरू समावेश गरिएका व्यवसायिक स्टलहरू अर्को विशेष आकर्षण रहे। घरेलु तथा लघु उद्यममा आधारित उत्पादनहरूको प्रदर्शनीले स्थानीय उत्पादन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको सहभागीहरू बताउँछन्।
त्यस्तै, रेस्टुरेन्टको झल्को दिने स्वादिलो फूड स्टलहरूले आगन्तुकलाई स्वादको रमाइलो अनुभव गराए। विभिन्न परिकारको स्वाद लिन आउनेहरूको भीड र लामहरू स्टलहरूमा देखिन्थ्यो।

महोत्सवमा फेस पेन्टिङ, रिंग टस, डार्ट गेम, फनफेयर स्टल जस्ता रमाइला खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरूले युवाहरूमा उमङ्ग र उत्साह थपेको थियो।
कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय उद्यमी, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक संस्था बिरगंज पब्लिक कलेजले यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमले शिक्षासँगै युवा प्रतिभा, नवप्रवर्तन र स्थानीय स्रोतको सदुपयोगमा सकारात्मक सन्देश दिएको छ।
