थाइराइड कस्तो समस्या हो ?
थाइराईड कुनै रोग होइन । शरीरको घाँटीको अगाडिको भागमा पर्ने एउटा ग्रन्थी हो । घाँटीमा पुतली आकारको हुन्छ । जसलाई थाइराइड ग्रन्थी भनिन्छ । यो ग्रन्थीले शरीरमा हर्मोन उत्पादन गर्ने काम गर्छ । जसले शरीरको मेटाबोलिजम, तौल, शरीरको तापक्रम, मुड, मुटुको गतिलाई नियन्त्रण गर्छ । थाइराइडको समस्या भनेको थाइराइड ग्रन्थीबाट हर्मोन असन्तुलित रुपमा बन्नु वा नबन्नु हो । थाइराइड ग्रन्थीमा लाग्ने समस्या धेरैथरिका हुन्छन् । रोगअनुसारका लक्षणहरू पनि फरक–फरक हुन्छन् ।
थाइराइड कति प्रकारका हुन्छन् ?
थाइराइडसम्बन्धी रोगलाई तीन भागमा विभाजन गरिएको छ । हाइपोथाइराइड, हाइपर थाइराइड र थाइराइडसम्बन्धी हुने क्यान्सर जसमा गिर्खाहरू पर्दछ । घाँटीमा भएको थाइराइड ग्रन्थीले थाइराइड हर्मोन उत्पन्न गर्छ । थाइराइड हर्मोन कम उत्पन्न भइरहेको छ भने त्यसलाई हाइपो थाइराइड भनिन्छ । हाइपोथाइराइड हुनुका कारणहरू धेरै हुन्छन् । घाँटीमा भएको थाइराइड ग्रन्थीले थाइराइड हर्मोन चाहिनेभन्दा बढी उत्पन्न गर्छ भने हाइपर थाइराइड भएको मानिन्छ । थाइराइड बढ्ने कारणहरू पत्ता लगाएर उपचार गर्नु पर्दछ । गिर्खा क्यान्सर हुने खालको र क्यान्सर नहुने खालको दुईथरिका हुन्छन् । गिर्खाको परीक्षण गरेर क्यान्सर हुने वा नहुने पत्ता लगाई उपचार गर्नु पर्दछ ।
थाइराइडमा कस्ता लक्षणहरू देखिन्छन् ?
हाइपो थाइराइडमा मोटाउने लक्षणहरू देखिन्छन् । सबैमा मोटाउने हुन्छ भन्ने छैन । मोटाउँदै जाने, अल्छी धेरै लाग्ने, निन्द्रा धेरै लाग्ने, सुस्तपन हुने, अध्ययनमा परिणाम नराम्रो आउने, चिसो धेरै लाग्ने, चिसो सहन नसक्ने, छाला सुख्खा हुने, भोक नलाग्ने, कपाल झर्ने, कब्जियतजस्तो हुने, ग्याँस भएजस्तो हुने, बाँझोपन हुने, महिनावारी परपर सर्दै जाने र धेरै रगत बग्ने हुन्छ । सुगर बढ्ने, प्रेशर बढ्ने, टाउको दुख्ने, घाँटी, हातखुट्टा सुन्निने, मुटुको चाल कम हुने, दमजस्तो लक्षण देखिने, सास फेर्न गा¥हो हुने, मुटु, छाती र पेटमा पानी भरिँदै जाने हाइपो थाइराइडका लक्षण हुन् । हाइपर थाइराइडमा दुब्लाउँदै जाने, भोक धेरै लाग्ने, पसिना आउने, बिरामी बेचैनी हुने, धड्कन छिटो–छिटो हुने, हातखुट्टा सुन्निने, प्रेशर बढ्ने, सुगर बढ्ने, घाँटी सुन्निने, कपाल झर्ने, बेला–बेला पातलो दिसा हुने, महिनावारी छिटो–छिटो हुने, महिनावारी हुदाँ रगत कम बग्ने, बाँझोपन हुने, मुटुसम्बन्धी चाल गढबढ हुने, हार्ट फेल हुने सम्भावना हुन्छ । गिर्खाको क्यान्सर हँुदा अचानक घाँटी सुन्निँदै जाने, वजन कम हुने, क्यान्सर अर्को भाग वा फोक्सोतिर सरेमा फोक्सोसम्बन्धी लक्षणहरू देखिने, हड्डीमा गाँठा, गिर्खाहरू पलाएको हुन सक्छ ।
थाइराइडका बिरामीले खानपानमा कस्तो ध्यान दिनु पर्दछ ?
थाइराइडका बिरामीले रोगअनुसारको खानपानमा ध्यान दिनु पर्छ । अहिले धेरै (अटोइम्युन डिजिज) प्रतिरक्षात्मक प्रणालीले शरीरको अंगमा नै गलत रुपमा आक्रमण गरिरहेको छ । त्यसमा खैनी, गुट्खा, चुरोट, सुर्तीजन्य पदार्थ, जाँड, रक्सी सेवन गर्नाले थाइराइडका बिरामीहरूलाई असर गर्छ । फ्रिजमा राखेको चिसो पेय पदार्थ, पानी र चिसो कुराहरूले घाँटीमा इन्फेक्सन हुन्छ । बन्दा र काउली धेरै मात्रामा खायो भने (माइगोइट्रोजन) थाइराइडको आकार ठूलो बनाउन सक्छ । अहिले जुन कारणहरूले थाइराइड समस्या भइरहेको छ । त्यसको लागि काउली र बन्दाले खासै असर पार्दैन । खानपानभन्दा पनि वजन बढेमा थाइराइड बढ्ने हुन्छ । वजन घटाउने तरिकाले आफ्नो खानपिनमा ध्यान दिनुपर्छ । चिनी, आलु, नुन, तेल र मैदाबाट बनेका खानेकुरा बढी खानु हँुदैन । रोटी र भात कम खाने, फ्याक्ट्रीमा बनेका जंक फूडहरू नखाने, वजनलाई सन्तुलन मिलाएर राख्नु पर्छ ।
थाइराइडको बिरामीले के जीवनभरि औषधी सेवन गर्नु पर्दछ ?
थाइराइडको उपचारभन्दा पनि के कारणले थाइराइड भएको छ त्यो पत्ता लगाउन जरुरी हुन्छ । थाइराइड हुनुको कारण पत्ता लगाएमा यसको उपचार खासै महँगो छैन । सबै थाइराइडमा जीवनभरि औषधी खानुपर्ने हुँदैन । थाइराइडको कारण अनुसार औषधी सेवन गर्ने समय पनि फरक हुन्छ । हाइपो थाइराइडमा कति कारणहरूले गर्दा औषधी केही दिन चलाएर बन्द गर्न मिल्ने खालको हुन्छ । कति कारणहरू हुन्छन् जसले गर्दा जीवनभरि औषधी सेवन गर्नुपर्ने हुन्छ । अहिले विज्ञानको विकास भइसकेको छ । पहिला नपाइने धेरै औषधीहरू अहिले उपलब्ध भइसकेको छ । न्युक्लियर औषधीको सहयोगले हाइपर थाइराइडको पूर्ण उपचार गर्न सकिन्छ । कारण पत्ता लगाएर औषधी सेवन गरेमा रोग निर्मूल हुन सक्छ । थाइराइड हर्मोन बढ्नु र घट्नु थाइराइड समस्या नभएर अन्य रोगले पनि हर्मोनको समस्या देखिन्छ । त्यसैले हामीले थाइराइडको भन्दा पनि अर्को रोगको उपचार गर्नु पर्छ । वजन बढी हुने महिलाहरूमा पोलिसिस्टिक ओभरी सिन्डम धेरै देखिन्छ ।
पुरुषभन्दा महिलाहरूमा थाइराइडको समस्या बढी देखिनुको कारण के हो ?
पुरुषभन्दा महिलामा तीन गुना बढी थाइराइड देखिएको छ । यही कारणले महिलामा थाइराइड भएको हो भनेर भन्न सक्ने अवस्था पत्ता लागेको छैन । महिलाहरूको जीवनमा गर्भधारण हँुदा, सुत्केरी हुँदा, महिनावारी बन्द हुँदा महिलाहरुमा हर्मोनको उतारचढाव हुने गर्दछ । महिलामा दुवै एक्स क्रोमोजोम हुने भएकोले, विषादी (टक्सिन) प्रयोग भएका खाद्यान्नले गर्दा शरीरमा रोग प्रगिरोधात्मक क्षमता कम भएर अटोइम्युन डिजिज बन्न मद्दत पुगेको देखिन्छ । आयोडिनको मात्रा चाहिनेभन्दा बढी खाएर पनि अटोइम्युन डिजिज बढी भएको हो कि भन्ने आशंका गरिएको छ । स्पष्ट रुपमा यहीले हो भन्ने छैन, अनुसन्धान भइरहेको छ ।
थाइराइडको समस्या भएका महिलमा गर्भाधान हुन्छ कि हँुदैन ?
महिलाहरूमा थाइराइडको समस्या छ भने योजना गरेर गर्भाधारण गर्नु पर्छ । उपचार नै नगरी गर्भधारण गरेमा बच्चामा नराम्रो असर हुन्छ । थाइराइड बढिरहेको छ भने बच्चा नबस्ने सम्भावना बढी हुन्छ । हाइपो थाइराइड बढिरहेको छ भने महिनावारी भइरहे पनि महिनावारीको बीचमा डिम्ब ननिस्किन सक्छ । थाइराइडको राम्रो उपचार गरेर गर्भाधारण गर्ने हो भने थाइराइडको हर्मोनको लेभल जाँच गरेर स्टेजअनुसार सन्तुलन बनाइराख्नु पर्छ । गर्भाधारण गर्नुअगाडि, गर्भाधारण भएको पहिलो तीन महिनामा र अन्तिम ६ महिना राख्नु पर्छ । योजना गरेर गर्भाधारण गर्नुभन्दा पहिला थाइराइड जाँच गराउने, गर्भ रहेको थाहा पाएपछि तुरुन्त जाँच गर्ने, गर्भ रहेको एक वा डेढ महिनामा थाइराइडको अवस्था हेरेर थाइराइडको औषधी चलाउनुपर्ने हुन्छ । थाइराइडको औषधी खाइरहँदा पनि गर्भ रहन्छ भने कतिपय महिलाहरूले औषधी सेवन गर्न छाडिदिन्छन् । औषधी छाड्दा बच्चालाई असर गर्छ । गर्भ रहे पनि थाइराइडको औषधी खान छाडिदिदाँ एक्कासी थाइराइड बढ्छ । जसले बच्चाको मानसिक, शारिरीक विकासमा असर पुग्छ । बच्चा खेर जाने, बच्चा पेटमा नै मृत्यु हुने सम्भावना हुन्छ । बच्चा जन्मे पनि मानसिक विकलाङ्ग हुने सम्भावना बढी हुन्छ । थाइराइडको औषधी गर्भावस्थामा पनि खाइरहनुपर्ने हुन्छ । अवस्था अनुसार औषधीको मात्रा बढाउनु पर्छ । थाइराइड जुनसुकै उमेरका महिलाहरूमा पनि हुन सक्छ । थाइराइड धेरैजसो २० वर्षदेखि ५० वर्षको उमेर सम्ममा बढी नै देखिएको छ ।
थाइराइडको उपचार कहाँ गराउन उपयुक्त हुन्छ ?
पहिला थाइराइडको उपचारका लागि थाइराइड विशेषज्ञ चिकित्सकहरू उपलब्ध थिएनन् । थाइराइड विशेषज्ञ चिकित्सक उपलब्ध नहुदाँ फिजिसियनले सेवा दिइरहेका थिए । उहाँसँग उपचार गराउनु भएको पनि ठिकै नै हो । अहिले थाइराइड विशेषज्ञ चिकित्सक उपलब्ध भइसकेका छन् । थाइराइड हुनुमा पनि धेरै कारण हुन्छन् । कारण पत्ता लगाएर उपचार गर्दा धेरै राम्रो हुन्छ । विशेष अवस्थामा बाँझोपन भइरहँदा, थाइराइड नियन्त्रण नहुँदा भने समयमा नै थाइराइड विशेषज्ञको रिफर गर्दा बिरामीलाई राम्रो हुन्छ । बिरामीले सही उपचार पनि पाउँछन् ।
अन्त्यमा के सुझाव दिन चाहनुहुन्छ ?
अहिलेको समयमा थाइराइडका बिरामीहरूको उपचारमा धेरै नै समस्या देखिरहेको छ । थाइराइडका लक्षणहरू देखिइरहेका छन् भने समयमा नै जाँच गराउनु पर्छ । थाइराइडको सामान्य जाँच टीएसएच गरेर मात्र पनि थाइराइडको ठूलो समस्या आउनबाट बच्न सकिन्छ । थाइराइड भएको आमाबाट जन्मेको बच्चामा थाइराइड हुने सम्भावना हुन्छ । तर, सबैमा बच्चामा थाइराइड हुन्छ भन्ने छैन । कतिमा टेम्प्रोररी एन्टिबडीज आमाको पेटबाट नै बच्चामा सर्ने हुन्छ । शुरूको ३ देखि ६ महिनासम्म समस्या देखिएर निको हुने पनि हुन्छ । वंशाणुगत थाइराइड आमाबुबामा छ भने छोराछोरीमा सर्ने हुन्छ । बच्चाहरूमा थाइराइडको लक्षण देखिएको छ भने समयमा नै थाइराइडको जाँच गराउनु राम्रो हुन्छ ।