७०औँ नेपाल प्रहरी दिवसको अवसरमा आज जिल्ला प्रहरी कार्यालय पर्सामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
जिल्लामा हुने रगत अभावको समस्या न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ६७ युनिट रगत सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
कार्यक्रम नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख शान्तिराज कोइराला र जिल्ला प्रहरी प्रमुख सुदीपराज पाठकले रक्तदातालाई ‘ब्लड ब्याग’ हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए।
प्रहरी दिवसका सन्दर्भमा विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू आयोजना हुँदै आएका छन्। प्रहरी प्रमुख पाठकले रक्तदानजस्ता सामाजिक कार्यहरूले प्रहरी र जनताबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
“प्रहरी दिवस विविध कार्यक्रम गरेर मनाउँदै आएका छौँ,” पर्सा प्रहरी प्रमुख पाठकले भने, “बुधबार विभिन्न धार्मिक स्थलमा सरसफाइ गरेका थियौँ, आज रक्तदान कार्यक्रम सम्पन्न गरेका छौँ र भोलि प्रहरी दिवसको मूल समारोह गर्ने तयारीमा छौँ।”
कार्यक्रममा प्रहरीका विभिन्न इकाइका अधिकारी, सशस्त्र प्रहरी, नागरिक समाजका प्रतिनिधि र स्थानीय बासिन्दाको समेत सहभागिता थियो।
नेपाल प्रहरीले प्रत्येक वर्ष असोज २७ गते नेपाल प्रहरी दिवस विविध सामाजिक, सांस्कृतिक र सामुदायिक गतिविधिहरूमार्फत देशभर मनाउने परम्परा रहेको छ। यस अवसरमा प्रहरी संगठनले समुदायप्रति उत्तरदायी भूमिकाको सन्देश दिने उद्देश्य राख्ने गरेको छ।