बंगलादेशका भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानले करिब दुई दशक लामो विदेश बसाइँ अन्त्य गर्दै ऐतिहासिक आम निर्वाचन लड्न देश फर्कने घोषणा गरेका छन्।
“समय आएको छ, ईश्वर चाहनु भयो भने म चाँडै फर्कनेछु,” रहमानले बीबीसी बांग्लासँगको करिब २० वर्षपछिको पहिलो प्रत्यक्ष अन्तर्वार्तामा बताएका छन्।
आगामी फेब्रुअरीमा हुने भनिएको निर्वाचनमा बीएनपी अग्रस्थानमा रहेको छ, र यदि पार्टी विजयी भयो भने रहमान (५८) देशका नयाँ प्रधानमन्त्री बन्ने प्रबल सम्भावना रहेको बताइन्छ। उनी बीएनपीकी अस्वस्थ अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन्।
यो निर्वाचनलाई बंगलादेशको इतिहासकै निर्णायक मानिएको छ। सन् २०२४ मा व्यापक प्रदर्शनपछि तीन पटककी प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरिएपछि राजनीतिक परिस्थितिले नयाँ चरण लिएको छ। संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताका अनुसार ती प्रदर्शन र दमनका क्रममा करिब १,४०० जनाको मृत्यु भएको थियो।
शेख हसिना अहिले भारतमा शरण लिएर बसेकी छन् र उनलाई प्रदर्शनका क्रममा मानवता विरुद्धका अपराधको आरोपमा अनुपस्थित अवस्थामै मुद्दा चलाइँदैछ।
हसिनाको पतनपछि रहमान किन अझै लन्डनमै छन् भन्ने प्रश्न उठ्दै आएको थियो। सन् २००८ देखि उनी त्यहाँ निर्वासित जीवन बिताइरहेका छन्।
“सायद केही व्यक्तिगत कारणले म फर्किन सकेको थिइनँ, तर अब समय आएको छ,” उनले भने, “जनताले पर्खेको यो निर्वाचनमा म टाढा रहन सक्दिनँ।”
१५ वर्षको शासनकालमा हसिनाको आवामी लिग पार्टीले बीएनपीसहित विपक्षीहरूलाई दमन गरेको थियो। तर हसिनाको पतनपछि रहमानमाथिका सबै मुद्दा खारेज गरिएका छन्।
अहिले नोबेल विजेता प्रोफेसर मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार सञ्चालनमा छ। उक्त सरकारले आवामी लिगका नेतामाथि चलिरहेको मुद्दा सकिँदासम्म पार्टीलाई राजनीतिक क्रियाकलापमा प्रतिबन्ध लगाएको छ। हसिना र उनको पार्टीले सबै आरोप अस्वीकार गरेका छन्।
बीएनपीले विगत वर्षभर अन्तरिम सरकारमाथि निर्वाचन मिति नतोकेको भन्दै आलोचना गरे पनि, आवामी लिगको सहभागिता नहुने विषयमा उनीहरूबीच समान धारणा देखिएको छ।
“हत्या र यातना गर्न आदेश दिनेहरूलाई न्यायको कटघरा पुग्नैपर्छ,” रहमानले भने।
मुख्य प्रतिद्वन्द्वी अनुपस्थित रहँदा बीएनपीले सहज बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ। खालिदा जिया (८०) बिरामी भएकाले चुनावी अभियानमा सक्रिय रहने सम्भावना कम छ।
यसबीच, देशको सबैभन्दा ठूलो इस्लामवादी दल जमात-ए-इस्लामीले पछिल्ला वर्षमा केही प्रभाव बढाएको देखिएको छ। यसको विद्यार्थी संगठनले दुई विश्वविद्यालयका विद्यार्थी संघ निर्वाचनमा जित हात पारेको छ, जसले पार्टीमा नयाँ ऊर्जा भरेको छ।
तर रहमानले विद्यार्थी संघको परिणामले आमनिर्वाचनमा प्रभाव पार्ने विश्वास नराखेका छन्। उनका अनुसार “जमातको मत प्रतिशत विगतका निर्वाचनहरूमा सधैं सानो रहेको” थियो।
जमात-ए-इस्लामीले केही अन्य इस्लामवादी दलहरूसँग गठबन्धनको सम्भावना खोजिरहेको भए पनि रहमान यसबारे चिन्तित छैनन्। “बीएनपीले विगतमा पनि प्रतिस्पर्धा गरेको छ, चिन्ताको कारण छैन,” उनले भने।
सन् २००० को दशकको सुरुवातमा बीएनपी र जमातबीच गठबन्धन सरकार बनेको थियो, तर पछिल्ला वर्षहरूमा दुवैले आ-आफ्नो बाटो लिएका छन्।
त्यस्तै, विद्यार्थी आन्दोलनबाट उदाएका युवाहरूले बनाएको नयाँ राजनीतिक दल “नेशनल सिटिजन्स पार्टी (एनसीपी)”ले विद्यार्थी संघ निर्वाचनमा खास प्रभाव देखाउन सकेको छैन, जसले आगामी आमनिर्वाचनमा उनीहरूको सम्भावनाबारे प्रश्न उठाएको छ।
भारतसँगको सम्बन्ध पनि अहिले बंगलादेशमा संवेदनशील राजनीतिक मुद्दा बनेको छ। हसिना दिल्लीमा शरण लिएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ। बंगलादेशी अदालतले हसिनाको पक्राउ आदेश जारी गरेको छ र भारतसँग उनको प्रत्यर्पण माग गरिएको छ, तर दिल्लीले आधिकारिक प्रतिक्रिया दिएको छैन।
बंगलादेशको राजनीतिक दलहरूले लामो समयदेखि भारतलाई आवामी लिगको समर्थनका लागि आलोचना गर्दै आएका छन्।
“यदि उनीहरूले (भारतले) तानाशाहलाई आश्रय दिएर बंगलादेशी जनतालाई असन्तुष्ट पार्न चाहन्छन् भने, त्यो उनीहरूको निर्णय हो,” रहमानले भने।
आगामी निर्वाचनमा लोकतान्त्रिक सुधार र अभिव्यक्ति स्वतन्त्रताको मुद्दा प्रमुख बन्ने देखिएको छ। आवामी लिगको शासनमा विरोध दमन र स्वतन्त्र प्रेसमाथि प्रतिबन्ध लगाइएको भन्दै व्यापक आलोचना भएको थियो। रहमानले आफू सत्तामा आएमा यस्तो पुनः नदोहोरिने आश्वासन दिएका छन्।
अन्तरिम सरकारले सबै दलबीच सहमति जुटाउने प्रयास गरिरहेको भए पनि प्रगति सुस्त छ। विशेषगरी गत वर्षको आन्दोलनमा अगुवाइ गर्ने युवाहरूका लागि स्वतन्त्रता र लोकतान्त्रिक अधिकार सुनिश्चित गर्नु आगामी सरकारका लागि प्रमुख परीक्षा हुने बताइन्छ।